जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि मधेस सरकारले बजेट नछुट्याउनु दुःखद रहेको बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय महेन्द्र नारायण निधि आमन्त्रित कराते प्रतियोगिताको उद्घाटन गर्दै नेता निधिले खेल र खेलाडीका लागि आफू सदैव सकारात्मक रहेको बताउँदै जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंंगशाला कुनैपनि हालतमा बन्नुपर्ने आवश्यकता रहेको बताए ।



उनले रंगशाला निर्माणका लागि आफू प्रदेशदेखि केन्द्रसम्म लबिङ्ग गर्न तयार रहेको समेत बताए । नेता निधिले जनकपुरधामस्थित कभर्ड हलको विकास र संरक्षणका लागि पनि आफू हरसम्भव प्रयासरत रहने बताए ।
उनले आजको युगमा सुरक्षाका लागि हतियार चाहिएपनि कराते खेल सिकेका खेलाडीले हतियार बिनानै आफ्नो आत्मरक्षा गर्न सक्ने बताए ।
उनले भने, ‘करातेको सबैभन्दा राम्रो पक्ष यो छ कि यसमा कुनै हतियारको प्रयोग गरिदैन । कुनै आक्रमणकारी हतियार लिएर लडाई गर्न आउँदा उनीसँग आफ्नो आत्मरक्षा कसरी गर्ने भन्ने सीख र कला यस खेलले सिकाउँछ ।’
नेता निधिले महेन्द्र नारायण निधिको नाममा प्रतियोगिताको आयोजना गरिनु आफ्नो लागि गर्वको विषय रहेको बताए । उनले भने, ‘महेन्द्र नारायण निधिले सदैव अहिंसा र सत्यको राजनीति गर्नुभयो । लोकतन्त्रमा जनताको अधिकार र देशको स्वाभिमानको रक्षा गर्न मैले वहाँबाट नै सिकेको छु ।’
नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाका अध्यक्ष अखिल मढिको अध्यक्षतामा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास, जनकपुरधाम–१३ का वडाध्यक्ष जितु राउतलगायत आठवटै जिल्लाका कराते संघका अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।
प्रतियोगितामा प्रदेशका ६ वटा जिल्लाबाट १५० जना खेलाडी उपस्थित भएका थिए । प्रतियोगितामा २० देखि ६० किलो तौल समूहका खेलाडीहरुबिच प्रतिस्पर्धा गराइएको थियो ।
प्रशिक्षकहरु जिवछ भगत, अखिलेश कर्ण, रामचन्द्र ठाकुर, रामबाबु साह, पाचन गुरुंगलगायतलाई सम्मानसमेत गरियो ।
कार्यक्रमका संयोजक मानवेन्द्र निधि थिए ।




