बर्दिवास- चर्को ब्याज असुली गरेको भन्दै बर्दिवास ३ गौरिडाडा निवासी आशा तोलाङ्गे विरुद्ध जिल्ला प्रशाासन कार्यालय महोत्तरीमा उजुरी परेको छ ।
चर्को ब्याज असुली गर्दै आफ्नो सम्पतीनै हडेपेको र उक्त सम्पती फिर्ता र न्याय पाउनुपर्ने माग गर्दै पिडितले उजुरी दिएका हुन।
तोलाङ्गे र उनका श्रीमान मनोज कुमार थापा बिरुद्ध उनकै छिमेकी अनिता गुरुङ्ग, अनिता तोलाङ्गे, फुलमाया सार्की र सिता मिजारले उजुरी दर्ता गराएका छन् ।




पिडित मध्येकी अनिता तोलाङ्गेले आशा दम्पतीसंग २ लाख ५० हजार ऋण सापटी लिएकोमा प्रत्येक १० दिनमा सो ऋणको २५ हजारको दरले ४ लाख ७५ हजार ब्याज र त्यसको साँवा २ लाख ५० हजार भुक्तानी गरी सक्दा समेत पटक पटक अनिताको घरमा गएर ऋण असुलीको लागि धम्काएको समेत उजुरीमा उल्लेख गरेकी छिन् ।

अर्का पिडित बर्दिवास नगरपालिका ३ घर भएका रामकुमार परियार र उनकी श्रीमती अनिता गुरुङ्गले आफ्नो घरजग्गा आफ्नै नाममा फिर्ता हुनुपर्ने माग गरेका छन् । तालाङ्गे दम्पतीको चर्को मिटर ब्याजको चङ्गोलमा फस्दा आफुँहरुको उठिबास लाग्ने अवस्था आएको पिडितको दुखेसो छ । परीयार दम्पतीका अनुसार छिमेकी मनोज कुमार थापा र उनकी श्रीमती आशा तोलाङ्गे संग ५ बर्ष देखी पटक,पटक गरी ४ लाख ९५ हजार घर खर्च चलाउन ऋण लिएका थिए । रकम असुली गर्न तोलाङ्गे दम्पतीले एक लाख रुपैयाँको साप्ताहिक रुपमा १० हजार सावाँ र ब्याज असुली गर्ने गरेको र हाल सम्म ७ लाख २० हजार नगद असुली गरिसकेको भएपनि ११ लाखको कपाली तमसुक गराएर बर्दिवास ३ गौरीडाडमा रहेको उनको ६ धुर जग्गा तथा त्यसमा बनेको ३ कोठे पक्की घर सहित घरमा रहेको बिजुली तथा खानेपानीको मिटर समेत आफ्नो नाममा नामसारी गराएको पिडितहरुको आरोप छ।
परियार दम्पतीले समाजसेवी तथा नेकपा माओबादी केन्द्रका नेता तुलसी प्रसाद ढुङ्गानासंग सहयोग माग पुगेपछि घटना बाहिर आएको हो । ढुङ्गानाले पिडित र पिडक दुबै पक्षलाई राखेर छलफल चलाएपनि तोलाङ्गे दम्पतीले असहमती जनाएपछि छलफल निश्कर्ष बिहिन बनेको थियो ।

सो छलफलबाट न्याय नपाएपछि पिडितले तोलाङ्गे दम्पती बिरुद्ध बर्दिवास नगरपालिका वडा नम्बर ३ को सिफासिस पत्र सहित जिल्ला प्रशासनामा उजुरी दिएका छन् । वडामा परेको उजुरी पछि वडाले छलफलमा बोलाउदा समेत तोलाङ्गे दम्पती सहमतिमा नआउने र उपस्थित समेत नहुने भएकाले जिल्ला प्रशासनमा उजुरी दिन सिफारिस दिएको वडा अध्क्षय बिराट बिष्टले जानकारी दिए । अध्यक्ष विष्टका अनुसार सो घटनाको छलफलका लागि बिष्टले दुबै पक्षलाई असार ३१ गत्ते आईतवार वडा कार्यालयमा बोलाएका थिए ।
त्यसैगरी तोलाङ्गे दम्पतीको बिरुद्धमा बर्दिवास ३ कि सिता मिजार र फुलमाया सार्की पनि जिल्ला प्रशासनमा उजुरी दिएकी छिन्। सापटि लिएको रकमको दोब्बर रकम तिरिसक्दापनि पैसा मागिरहने गरेकाले तिर्न नसक्ने भएपछि न्याय माग्न हिडेको पिडितले बताइन् ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता उपेन्द्र न्यौपानेले जिल्ला प्रशासन कार्यालय महोत्तरीका तोलाङ्गे दम्पती विरुद्ध ४ वटा उजुरी परेका जानकारी दिए। तोलाङ्गे दम्पतीको बिषयमा पिडक र पिडित दुबै पक्षलाई राखी छलफल गरी निष्कर्शमा पुग्ने न्यौपानेले बताए ।
यता पिडितहरु जिल्ला प्रशासनमा तोलाङ्गे दम्पती विरुद्ध उजुरी दर्ता गराएपनि तोलाङ्गे दम्पती भने आाफहरुमाथि लगाईएको आरोप निराधार भएको बताए ।
आशा तोलाङ्गेले शिरीषसंग यस सन्दर्भमा प्रतिक्रिया दिदै भनिन्, “रामकुमार परियार र उनकी श्रीमती अनिता गुरुङ्गले हामी माथि लगाएको आरोप बिल्कुल गलत हो । उनिहरुले घर घडेरी बिक्री गरेको र हामीले किनेका हौं । यो विशुद्ध घर जग्गा किनबेच हो । बकाइदा उनिहरुले हामीलाई घर जग्गा बेचेका हुन् । हामी संग किनबेचको कागज छ, बेचि सकेपछि पानी र बत्तीको आफ्नो नामको लगत कट्टा गराएर मेरो नाममा नामसारी गरिदिएका हुन् ।” अनि हामी कसरी दोषी भयौं भनेर प्रश्न गर्दै तोलाङ्गेले भनिन्, “के घर जग्गा खरिद गर्न नपाउने हो र हामीले ?”
“त्यसैगरी आपत परेको बेला सरसापटी लिएर गएकाहरुका संग हिसाब किताब गरेर फरफराक गर भन्नु हुँदैन र ?” “हो सापटी भनि ऋण लिएर गएकाहरु संग आफ्नो रकम सुपथ ब्याज सहित फर्काउन भनेको चाहि हुँ । आफ्नो रकम कसरी छोड्न मिल्छ । हो त्यहि मागे पछि आफू माथि मिटर ब्याजी रे चर्को ब्याज लिए रे घरको न घाटको बनाए रे । के मैले आफै तिनिहरुलाई ऋण दिन गएको होर ? जरुरी पर्दा आपत पर्दा मैले ऋण दिएको हुँ । अनि के मैले उल्टै गल्ती गरे ? भनेर प्रश्न गरिन्” , तोलाङ्गेले।
ब्याज नदिएपनि कम्तीमा मैले जति जति दिएको थिएँ त्यसको ब्याज नदिएपनि मुलधन त वापस गर्नु परो नि, मनोज थापाले भने।
थापाले कुनै अनलाईनमा एकतर्फी मात्र न्युज लेखेर आफ्नो बदनामी गराउन खोजेको आरोप लगाए । उनले आफूहरु कामको सिलसिलामा अहिले नाइट बसबाट काठमाण्डौं जान लागेकोले उताबाट फर्के पछि यस सन्दर्भ सबै सबुत प्रमाण सहित थप कुराकानी गर्ने बताए । आफूहरु माथि षडयन्त्र भइरहेको र फसाउन खाेजिएकोछ, कानुनी उपचारमा जाने थापाले बताए।




