महाेत्तरी- गाैशाला नगरपालिकामा कार्यरत कर्मचारीहरु सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
प्रशासन प्रमुख सौर्य साहको नेतृत्वमा गएको कर्मचारीको टोलीले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी दिपक पहाडीसमक्ष ज्ञापनपत्र बुझाईएको हो ।




यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले घटनाको सम्बन्धमा निष्पक्ष तवरले छानविन गरि न्याय प्रत्याभ्ुति गर्नुपर्ने बताएका छन् । स्थानियतहमा भएको घटनाको सम्बन्धमा मेयरको नेतृत्वमा घटनाको सुक्ष्म रुपमा छानविन गरिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी पहाडीको भनाई रहेको छ ।
गौशाला नगरपालिकाकी उपमेयर रेणु महतोले कार्यकक्षमा कार्यरत रहेको अवस्थामा राजश्व शाखाका कार्यरत रहेका दिपेन्द्र यादव उपर हातपात गरेको आरोप लगाइएको छ।
कार्यकक्षमा तोकिएको जिम्मेवारी अनुसार कार्यरत रहेको अवस्थामा टेवुलमा रहेको महत्वपुर्ण फाईलहरु फालेर तथानाम गाली गलौज गर्दै हातपात गरेको कार्यालयका कर्मचारी दिपेन्द्र यादवले बताएका छन् ।
यसरी कार्यालयमा कार्यरत रहेका कर्मचारीहरु उपर उपमेयर महतोले विना कारण हातपातमा उत्रिएको भन्दै कर्मचारीहरु आन्दोलित भई ज्ञापनपत्र बुझाएको कार्यालयका ईन्जिनियर नविन महतोले बताए ।
मंगलवार पहिलोदिन हातमा कालोपट्टि वाँध्दै धर्नामा बसेका कर्मचारीहरु दिउँसो जलेश्वर पुगेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गई सुरक्षाको प्रबन्धको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
विना कारण आफुलाई विवादमा फसाउन खोजे : उपमेयर रेणु महताे
यता उपमेयर महतोले कर्मचारीहरुले विना कारण आफुलाई विवादमा फसाउन खोजेको बताएकी छिन् ।

उनले भनिन्, ‘पोखरी र वजार ठेक्का लगाउनका लागि आफुले राजश्व शाखासँग छलफल गर्नका लागि कर्मचारी दिपेन्द्र यादवलाई वोलाउँदा अटेरीपन गरेको थियो । शाखाका अर्का कर्मचारी सोनेलाल रायमार्फत खवर पठाउँदा समेत दिपेन्द्र यादवले कुनै वास्ता गरेनन् । पछि उनको कार्यकक्षमा गएर बाेलाउँदा समेत किन नआएको जवाफ मागेको घटनालाई कर्मचारीहरुले अर्कै मोड दिएको हो । यस विषयमा सुक्ष्म रुपमा अनुसन्धान हुनुपर्ने आवश्यक्ता छ । मैले कुनै कर्मचारीमाथि हातपात वा गालीवेईज्जती गरेको छैन ।’
उपमेयर महतोले आफुमाथि गलत नियतले आरोप लगाएको भन्दै प्रेस विज्ञप्ति सार्वजानिक गरेकी छिन् ।
उनले जारी गरेकी उक्त विज्ञप्तिमा घटनाको सम्बन्धमा कर्मचारीहरुले लगाएको आरोप निराधर रहेको बताएकी छिन् ।





