क्यान्डी, श्रीलंका — नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबार हुने खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । भारतसँग खेल्न पाउनु नै एउटा सपना जस्तो रहेको नेपाल यो स्थितिलाई लिएर निकै रोमाञ्चित छ ।पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो । विश्व नम्बर एक पाकिस्तानले बुधबार प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई मुल्तानमा २ सय ३८ रनले पराजित गरेको थियो । परम प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल शनिबार वर्षाका कारण रद्द भएको थियो ।
‘भारत र नेपालबीचको खेल नकआउट जस्तै बन्ला भनेर कहिल्यै सोचेको थिइनँ किनभने भारतसँग खेल्न पाउनु नै हाम्रा लागि ठूलो अवसर हो,’ नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले आइतबार पालेकेले क्रिकेट रंगशालामा भने, ‘यो अवसरका लागि हाम्रो तीन पुस्ताले प्रयास गरेका थिए, त्यसैले भारतसँग यति ठूलो स्टेजमा खेल्न पाउनु हाम्रो पुस्ता भाग्यमानी नै छ । विगतमा नेपालका लागि जो जसले मिहिनेतसाथ खेलेका थिए, हामी भारतसँगको खेलमा उहाँहरूको प्रतिनिधित्व गर्नेछौं ।’



भारतसँगको खेलमा नेपालको सोचेको जस्तो तयारी भएको छैन । मैदानमा अभ्यास गर्न नपाई नेपालले भारतसँग खेल्नेछ । पाकिस्तानबाट बुधबार बिहान ३ बजे चार्टर फ्लाइटमा नेपाली टोली श्रीलंका आएको थियो । तर लगातारको वर्षाका कारण नेपालले मैदानमा अभ्यास गर्न पाएन । आइतबार साँझ नेपाली टोलीले पालेकेले क्रिकेट रंगशालाको इन्डोरमा प्रशिक्षण गरेको थियो ।
क्यान्डीमा आइतबार दिनभर वर्षा भए पनि सोमबार नेपाल र भारतबीचको खेल हुने सम्भावना रहेको छ । वर्षाले केही क्षण प्रभावित गर्न सक्ने मौसम पूर्वानुमान छ । ‘मौसम हाम्रो हातमा छैन, आशा छ हामीले भारतसँग खेल्ने अवसर पाउनेछौं, किनभने हामी माथिल्लो स्टेजमा खेल्न चाहन्छौं, वर्षाका कारण छोटो खेल नहोस् भन्ने कामना गर्दछु,’ रोहितले भने ।
नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।
भारतीय प्रतिनिधि भने नेपालसँगको खेलअघिको पत्रकार सम्मेलनमा अनुपस्थित रहे । शनिबार भारत र पाकिस्तानको खेल पहिलो इनिङ्स समाप्तिपछि रद्द भएको थियो र दुवै टोलीका प्रतिनिधि पत्रकार सम्मेलनमा अनुपस्थित रहे । दिनभरिको वर्षाका कारण भारत आइतबार प्रशिक्षणमा पनि आएको थिएन ।
नेपालजस्तै भारतलाई पनि पाकिस्तानको पेस आक्रमण खेल्न निकै हम्मे परेको थियो । तीव्र बलर साहिन शाह अफ्रिदीले भारतीय कप्तान रोहित शर्मालाई ११ र विराट कोहलीलाई ४ रनमा बोल्ड गरेपछि भारतले पूरा इनिङ्स दबाबमा खेलेको थियो । टोलीमा फर्किएका श्रेयस ऐर १४ र ओपनर सुबमन गिल ११ रनमा आउट भएपछि भारत ६६–४ को स्थितिमा पुगेको थियो । इशान किसन र हार्दिक पाण्ड्याले पाँचौं विकेटमा १ सय ३८ रनको साझेदारी गरेपछि भारतको स्कोर मजबुत बनेको थियो । किसनले ८१ बलमा ८२ र पाण्ड्याले ९० बलमा ८७ रन बनाएका थिए ।
विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या जस्ता खेलाडी रहेको भारतसँग नेपालको तुलना गर्न गाह्रो छ । ‘हामीले उनीहरूको खेल हेरेरै धेरै कुरा सिकेका छौं, त्यो चाहे खेल होस् या अनुशासन । अहिले पनि भारतसँग हामीले धेरै सिक्ने अवसर छ,’ रोहितले भने, ‘रोहित, विराट कोहलीका बारेमा सबैलाई थाहा नै छ, उनीहरू विगत १०–१२ वर्षदेखि खेल्दै आएका छन् । कोहली हामी सबैका लागि प्रेरणाका स्रोत हुन् । उनीहरूलाई कसरी ट्याकल गर्ने भनेर हामीले पनि योजनाहरू बनाएका छौं । सबै खेलाडीहरू यही गृहकार्यमा लागेका छन् ।’
एसिया कपमा नेपाल पहिलो पटक खेलेको हेर्न नेपाली दर्शक मुल्तान पुगेका थिए भने क्यान्डीमा पनि नेपालसहित विभिन्न देशबाट ठूलो संख्यामा दर्शकहरू आएका छन् । दर्शकहरूको सफलता र प्रेरणाले आफूहरूलाई अझ राम्रो खेल्न उत्साह गर्ने जनाउँदै रोहितले भने, ‘पाकिस्तानसँगको खेलपछि जब मैले भिडियो हेरेको थिएँ, विभिन्न देशबाट सँगै बसेर नेपालको खेल हेरेको पाएको थिएँ, यसले मलाई निकै खुसी बनायो, किनभने क्रिकेटलाई सबैल चासोका रूपमा हेरिरहेका छन् । हामी एउटा टिमका रूपमा खेलेर सबैलाई खुसी बनाउन चाहन्छौं । हामीसँग राम्रो क्रिकेट खेल्ने अवसर पनि छ ।’
भारतसँगको खेलमा पाकिस्तानका तीन तीव्र बलरमा अफ्रिदीले ४ तथा नसिम शाह र हरिस राउफले ३–३ विकेट लिएका थिए । पालेकेलेको विकेटले तीव्र बलरलाई सहयोग गरिरहेकाले नेपालले देब्रे हाते ललित राजवंशीको स्थानमा ब्याटर भीम सार्कीलाई खेलाउन पनि सक्नेछ । अलराउन्डरमा केन्द्रित हुँदै नेपालले पाकिस्तानसँगको खेलमा भीमलाई बाहिर राखेको थियो । दोस्रो इनिङ्समा विकेट स्लो भएर स्पिनलाई सहयोग गर्ने सम्भावना पनि रहेकाले नेपाली टोलीलाई अर्को विकल्प पनि हुनेछ । अलराउन्डरका रूपमा खेलेका तीव्र बलर गुल्सन झाले पाकिस्तानविरुद्ध अनुशासित बलिङ गर्न सकेका थिएनन् भने सोमपाल कामी पनि महँगा सावित भएका थिए ।
एसीसी इमर्जिङ टिम्स कपपछि नेपाली टोलीले एसिया कपको तयारीका लागि १५ दिन श्रीलंकामा तयारी गरेको थियो । थप तयारी गर्न नेपालले भारतमा स्थानीय टोलीसँग थप अभ्यास खेल्ने तयारी गरेको थियो । तर, तालिका मिल्न सकेन । अहिले भारतसँग नेपाल खेल्दै छ । रोहित यसका लागि नेपालले यात्रा गरेको जनाउँछन्, उनले भने, ‘हाम्रा खेलाडीले पछिल्लो २–३ वर्षमा निकै मिहिनेत गरेका थिए । त्यही कारण हामी अहिले एसिया कपमा छौं र एसिया कप खेल्न योग्य पनि छौं ।’ भारतीय बलर जसप्रित बुमराह सोमबार नखेल्ने भएका छन् ।
श्रीनाथको २ सय ५० औं म्याच
नेपाल र भारतबीचको खेल म्याच रेफ्रीका रूपमा जभागल श्रीनाथको २ सय ५० औं खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेलमा पनि उनी नै म्याच रेफ्री रहेका थिए । भारतका लागि ६७ टेस्टमा २ सय ३६ र २ सय ९९ एकदिवसीय खेलमा ३ सय १५ विकेट लिएका श्रीनाथ सबैभन्दा बढी म्याच रेफ्री बन्ने सूचीमा चौथो स्थानमा छन् ।
यसअघि श्रीलंकाका रञ्जन मदुगले, इंग्ल्यान्डका क्रिस बोर्ड र न्युजिल्यान्डका जेफ क्रोले म्याच रेफ्रीका रूपमा २ सय ५० भन्दा बढी खेल खेलाएका छन् । भारतलाई सन् २००३ मा विश्वकप फाइनलमा पुर्याउँदाका महत्त्वपूर्ण खेलाडी श्रीनाथ २००६ यता आईसीसीको म्याच रेफ्री प्यानलमा रहेका छन् ।-कान्तिपुर




