काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।
प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको दोस्रो जित हो ।चार खेलमा भने मधेश प्रदेश पराजित भएको छ । ६ खेल खेलेको लुम्बिनी प्रदेशले पनि दुई खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ ।



काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने १८.५ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।मधेश प्रदेशको जितमा ओपनर पूजा महतोले अविजित ६० रनको योगदान गरिन् ।
उनले ५९ बलमा पाँच चौका पनि प्रहार गरिन् । अनुराधा चौधरीले १७ रन जोडिन् । सरस्वती कुमारीले अविजित १२ रन बनाइन् । लुम्बिनीका बलर कमला जीएम र सुस्मिता भुषालले एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले अविजिति ६४ रन बनाएकी थिइन् । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
उनले ६४ बलमा दुई छक्का र आठ चौका प्रहार गरिन् । कप्तान सरस्वती जीएमले १० रन जोडिन् । मधेश प्रदेशका बलर साक्षी यादवले दुई तथा पूजा महतो, आरती महतो र कविता गौतमले एक–एक विकेट लिए । पूजा महतो प्लेयर अफ दी म्याच घोषित भइन् ।




