जनकपुरधाम – मधेस प्रदेशको राजधानी जनकपुरधामबाट ५ सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उदघाटन भइरहँदा जनकपुरधाममा उल्लासमय वातावरण बनेको छ।
आज भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ। यति खेर जताततै सार्वजनिक चोक देखि चिया र पानपसलहरूमा चारैतिर चर्चाको प्रमुख विषय नै राममन्दिरको उदघाटन बनेको छ।




अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशको राजधानी भगवानको राम ससुराली जनकपुरधाम सहित मधेसका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झण्डाहरु झुण्ड्याइएको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुष वाण लगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूल लगायत एक हजार भन्दा बढी भार अयोध्या पठाइसकेको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र साहले जानकारी गराए। जानकी मन्दिर प्रांगनमा एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ । जानकी मन्दिरमा श्रदालुको भिड लाग्दैछ । जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा फहराइएको छ । जानकी मन्दिर परिसर फुल मालाले सजाइएको छ । आज बेलुकी ५ बजे मन्दिरमा सवा लाख दीप प्रज्वलनका गरिदैछ । मन्दिर परिसरमा फूलले जय श्रीराम, धनुष र रामको चित्र कोरिएको छ । दिपोत्सव सम्पन्न भएपछि बेलुकी ६ बजे मन्दिर परिसरमै महागंगा आरतीको आयोजना गरिने जानकी मन्दिरका पुजारी ऋषिकेश झाले जानकारी दिए । उनका अनुसार आज विशेष दिन भएकाले गंगासागर पोखरीमा सधैँ हुने यो आरती जानकी मन्दिरमा हुन लागेको छ ।

त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको थियो। र, सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपाल पनि उल्लासमय बनेको छ। ‘त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ जसको उदाहरण रामललाको प्राण प्रतिष्ठाको अवसर हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशणदास वैष्णव बताउँछन्, ‘भगवान् रामको मन्दिर अयोध्यामा ५ सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राण प्रतिष्ठा पाउनु सबै सनातनी हिन्दु धर्मावलम्बीहरूका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ त्यो कम नै हुन्छ।’














