महोत्तरी – महोत्तरी, माघ २० गते । प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीको इतिहासमा पहिलोपल्ट सर्जरी गरी भाँचेको हातको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा.सरोज कुमार भगतले हात भाँचिएको एक व्यक्तिलाई शल्यक्रियाको माध्यमबाट उपचार गर्नुभएको हो ।
यो उपचारपश्चात यसक्षेत्रका वासिन्दाहरुलाई खर्चसंगसंगै समयमा पनि वचत हुन सक्ने देखिएको छ साथै यस अघि उपचारका लागि जनकपुर, विराटनगर, धरान तथा काठमाण्डौं जानुपर्ने अवस्थाको समेत अन्त्य हुने स्थानीय वासिन्दाहरुको विश्वास रहेको छ ।



जलेश्वर नगरपालिका वडानं. ७ बेला बस्ने ४५ वर्षिय रामचन्द्र महतो घरको लागि बाँसको पात झार्ने क्रममा एक्कासी खस्दा दाहिने भात भाँच्चिएको थियो । उनलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल लग्दा अस्पतालले जनकपुर रेफर गरेको उपचारमा कुरुवा बन्नुभएका श्यामसुन्दर महतोले जानकारी दिनुभयो ।
हामी जनकपुर लग्ने सुरसार गर्दै गर्दा अस्पतालका अर्थोपेडिक सर्जन आएर यही उपचार गराउँदा ठिक हुने भन्दै शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभयो । हामी परिवारजनले सहमति दिएपछि दाहिने हातमा दुईवटा स्टिल फिक्स गरेर उपचार गरिएको महतोले जानकारी दिनुभयो । प्रादेशिक अस्पतालमा उपचारले समय तथा धन दुवैको वचत भएकोले हामी परिवारजन खुशी छौं कुरुवा रहनुभएका श्यामसुन्दर महतोले बताउनुभयो ।
शल्यक्रियापश्चात चिकित्सकको निगरानीमा अस्पतालमै रहनुभएका बिरामी रामचन्द्र महतोले आफ्नै गाउँठाउँमा सस्तो दरमा तथा सहजतापूर्वक उपचार भएकोमा खुशी व्यक्त गर्नुहुदै चिकित्सकहरुलाई धन्यवाद दिनुभयो ।
अस्पतालका अर्थोपेडिक सर्जन डा.सरोज कुमार भगतले कम्युनिटेड डिस्टल एंड रेडियस फ्रयाक्चर भएको बताउनुहुदै अस्पतालका टीमहरुले पहिलोपल्ट जलेश्वर अस्पतालमा सफल शल्यक्रिया गर्नुभएको जानकारी दिनुभयो । उहाँले टिममा एनेस्थेसिया सहायक मनोज यादव, अ.न.नी.अर्जिना साह, स्टाफ नर्स गुड्डी मिश्रालगायतकाहरु सहभागी रहेको जानकारी दिनुहुदै प्रादेशिक अस्पतालमा केही थप इक्युपमेन्टहरु भयो भने अर्थोपेडिक समस्या भएका बिरामीहरुलाई सहजताका साथ उपचार गर्न सकिने बताउनुभयो ।
आफु दुई महिना मात्रै अस्पतालमा आएको जानकारी दिनुहुदै हाड, जोर्नी तथा नशा रोगका बिरामीहरु आएका खण्डमा उपचार गर्न अस्पताल सक्षम भएको बताउनुहुदै अस्पतालमा सि आर्म (एक्सरे मेशिन) मेशिन लगायतकाहरुको आवश्यकता रहेको जानकारी दिनुभयो ।
जलेश्वरमा औषधी पसल सञ्चालन गर्दै आउनुभएका संजीत पाठकले अस्पतालमा अर्थोपेडिक समस्या भएका बिरामीहरुको सफल शल्यक्रिया तथा उपचार भईरहेकोमा खुशी व्यक्त गर्नुहुदै यसक्षेत्रका वासिन्दाहरुलाई उपचारमा सहजता थपिने बताउनुभयो ।
उहाँले बाहिर गएमा यसको उपचारमा ६० हजारभन्दा माथि नै खर्च हुने गरेकोमा यस अस्पतालमा सस्तो र न्यूनतम दरमा उपचार हुने भएकोले सर्वसाधारणहरुको लागि राम्रो हुने भएकोले अस्पताल प्रशासनले शल्यक्रियाको लागि आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिदिनुपर्ने आग्रह गर्नुभयो ।




