महोत्तरी – मधेश प्रदेशसभाको स्थापना दिवसको अवसर पारेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष तथा महोत्तरी क्षेत्रनं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरसहितका नेताहरुले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको हो ।
प्रदेशसभा स्थापना दिवसको अवसरमा गठन गरिएको उपसमितिको संयोजक जिवछी कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरसहित, उप सभामुख बबिता इसर, मूल समारोह समितिका संयोजक कंचन विच्छा, प्रदेशसभा सदस्य सहिदा खातुन, किरण कुमारी साह, रानी शर्मा तिवारी, प्रदेशसभाका सचिव मनोज कुमार गिरी तथा प्रादेशिक अस्पताल जलेश्वरको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झाको सहभागिता रहेको थियो ।




अस्पतालमा उपचारमा रहेका करिब ५० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको हो । सो अवसरमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झाले अस्पतालमा सञ्चालनमा रहेको सेवाहरु तथा अझ गर्नुपर्ने कामहरुको बारेमा अध्यक्ष ठाकुरलाई जानकारी गराउनुभएको थियो ।अस्पतालमा फलफुल कार्यक्रम वितरण पूर्व मटिहानी नगरपालिकाको एक कार्यक्रममा लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले देशको उन्नती आजको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी मटिहानी नगर कार्यसमितिद्वारा वड़ा नं. १ सानो धिरापुरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले अविकसित देशको सूचीमा रहेको हाम्रो देश संघीयता आए पछि बिकासोन्मुख तिर लागेकोमा खुशी व्यक्त गर्नुहुदैसबै मिलेर देशको विकास गर्न आग्रह गर्नुभयो ।
प्रजातन्त्रमा प्रतिपक्षको भूमिका हुने गरेकोले संसारमा लोकतन्त्र सबभन्दा राम्रो ब्यबस्था रहेकोमा जोड दिनुहुदै ठाकुरले लोकतन्त्रमा जनताको हितमा काम गर्न सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रदेशसभा सदस्य रानी शर्मा तिवारी, रुपा यादव, मटिहानी नगरपालिकाका नगर प्रमुख एवं पार्टीका महासचिव हरि प्रसाद मण्डलसहितका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।




