जनकपुरधाम – जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या आरोपमा पक्राउ परेका अर्जुन साह लागूऔषध सेवनकर्ता र पटके अपराधी रहेको खुलेको छ । गत सोमबार पौने १ बजे दिउँसो जनकपुरधामको विश्वकर्माचोक नजिक महोतरी एकडरा गाउँपालिका ३ भटोलियाटोलका २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको थियो ।
हत्या गरेको आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका ४ का २२ वर्षीय अर्जुन भन्ने अजय साह लागूऔषध सेवनकर्ता र अपराधी प्रवृत्तिको रहेको खुलेको हो ।पक्राउ परेका अर्जुन विगत २०७२ यता पटक पटक अपराधमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



यो पनि पढ्नुहोस : जनकपुरमा छुरा प्रहार गरी महोत्तरीका युवकको हत्या
जनकपुरधाममा दिनदहाडै छुरा प्रहार गरी महोत्तरीका एक युवकको हत्या, दुई जना पक्राउ
आफू यस एरियाको दादा रहेको दावी गर्ने, भारतीय नाकाहरुमा गई लागूऔषध नाईट्रोभेट ट्याब्लेट, गाँजा र भाङ सेवन गर्ने गराउने र भनेको कुरा नमाने मौका पाएको बखत कुटपिट गर्ने प्रवृतिको रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।उनका अनुसार अर्जुन पटक पटक अपराधमा पक्राउ परेको र जिल्ला प्रहरी कार्यालय धनुषाबाट मुद्दा चलाइएर पुर्पक्षका लागि कारागारसमेत चलान भएर छुटेका व्यक्ति हुन् ।
७ वैशाखमा अर्जुन चोरी मुद्दामा पक्राउ परेर धनुषा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएपछि पछि छुटेका थिए । छुटेको केही समयपछि गत मंसिर ६ गते पुनः अपराधमा उनीमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा चलाइएको थियो । त्यस अघि २०७८ मंसिर २१ गते उनीमाथि प्रहरीले सार्वजानिक शान्ति विरुद्धको कसुर मुद्दामा पक्राउ भई मुद्दा चलाएको थियो ।२०७२ साउन ३२ मा उनीमाथि सार्वजानिक अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको डिएसपी अवाले बताए । प्रिन्स हत्या आरोपमा अर्जुनमाथि कर्तव्यज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।




