जनकपुरधाम – जनकपुरधाम सहित सम्पूणर् मिथिलाञ्चलमा आज भातृ द्वितीया पर्व मनाइदैछ।गोवर्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृद्वितीया’ पर्व मनाउने गरिन्छ ।
मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दिदीबहिनीसँग दाजुभाइले न्यौत लिने गर्छन् । यसमा दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दूरले बनाएको विशेष प्रकारको रंगोली (चौका) मा पिँढीमा बसाली हातमा पान-सुपारी र शिरमा गम्छा/तौलिया/रुमाल राखिदिएर न्यौत दिन्छन् र सप्त रंगी टिका दिदी बहिनीले दाजुभाईलाई लगाइ दिने गर्छन् । पिँढीमाथि बसेका दाजुभाइको हात पखालि दिएर पान-सुपारी एवं मिठाईं हातमा राखिदिने गरिन्छ । गम्छा टाउकोमा राखिदिने र मिठाईं खुवाइने चलन छ ।




पण्डित इन्द्रकान्त झाका अनुसार न्यौत परम्पराका लागि पाँच रंगको फल अनिवार्य छ । पहिले-पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर-पुरी वा चिउरा, दही तथा एक सेट साडी, ब्लाउज सहितको काँधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ ।

यो ‘भातृद्वितीया’ भनेको पहाडी समुदायले मनाउने भाई टिका जस्तो नै हो । यस पर्वमा दिदी बहिनीले केराउको दानालाई केरामा खोपेर दाजुभाईलाई ‘बजरी’ खुवाउने चलन छ। ‘बजरी’ खुवाउनुको अर्थ आफ्नो दाजुभाईलाई कडा हुनु, (रोगव्याधि नलाग्नु रहेको छ ।

पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जुली बनाएर बस्छन् । त्यसमा दिदीबहिनीले पा“चवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरूप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीनचोटी पूजा गर्छन् ।
पूजाका बेलामा दिदीबहिनीले यसरी मन्त्रोच्चारण गर्ने गर्छिन् –
यमुना नेओतैत छथि यम के,
हम नेओतैत छी भाइके,
हमर भाइ कुम्हरक फूल,
बजरी खाय बज्र भके जिवे,
जेना गङ्गा यमुना धार बढय,
तहिना हमर भाइके औरदा बढय ।
अर्थात्, जसरी यमुनाले आफ्नो भाइ यमराजलाई घर आउन निम्तो दिएछ, त्यसरी नै म पनि आफ्नो दाजुभाइलाई निम्तो दिएछु । मेरो दाजुभाइ कुभिन्डोको फूल जस्तै होस् (जो छिटो ओइलि“दैन), बजरी (एक प्रकारको कडा दाना) खाओस् र वज्र भएर बा“चोस् तथा जसरी गङ्गा यमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरो दाजुभाइको आयु निरन्तर बढिरहोस् भन्ने हो ।
पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैया“ पैसा दक्षिणास्वरूप दिने प्रचलन छ । त्यसपछि दिदीबहिनीले पकाएका मीठा मिठा परिकार दाजुभाइले ग्रहण गर्छन् । दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छन् ।

पौराणिक कथाअनुसार, सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर आउन निम्ता गरिन् । आफ्नो घर आएको दाजु यमराजलाई पूजाआजा गरी विभित्र प्रकारका मीठा मीठा खानेकुरा खुवाएर बहिनी यमुनाले खुब सम्मान र सत्कार गरिन् । बहिनीको सम्मान र सत्कारबाट खुसी भई यमराजले बहिनी यमुनालाई वरदान माग्न भने । बहिनीको इच्छाअनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छा सिद्धि गर्न पाउन् भनी यमराजले वरदान दिएकाले त्यसैबेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भ्रातृ द्वितीया गर्ने परम्परा बसेको धार्मिक विश्वास छ ।

यमुनाले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन वरदान प्राप्त गरेकीले यस पर्वलाई यमद्वितीया पनि भनिने गरिन्छ । भ्रातृ द्वितीया दाजुभाइ-दिदीबहिनीका लागि विशेष उत्सवको दिन हो । घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भ्रातृ द्वितीयाले महत्वपूणर् भूमिका निर्वाह गरेको छ ।




