महोत्तरी- महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सुशासनको सवालमा कुनै पनि हालतमा कसैसँग सम्झौता नगर्नेमा प्रतिवद्धता जनाएका छन् । आईतबार दिउँसो महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कवारीले हरेकको साथ, सहयोग पाएपछि जिल्लाभरिका कार्यालयहरुमा सुशासन ल्याउनका निम्ति कानुनअनुसारको कारवाही गरि सुशासन ल्याउनेमा जोड दिए ।
उनले भने, ‘सेवाग्राहीसँग घुस वा कमिसन मागेको खण्डमा २४ औं घण्टा जानकारी पाएको खण्डमा त्यस्तालाई कारवाही गरिनेछु । तपाईहरुले निर्धक्क भई फोन गरे म अवश्य नै त्यसलाई कारवाहीको दायरामा ल्याउनेछु ।’ आफु यस जिल्लाबासीको हैसियतले यहाँ सुशासन ल्याउने पक्षमा रहेको उनले बताए ।




प्रमुख जिल्ला अधिकारी कवारीले आजै ईलाका प्रशासन कार्यालय गौशालाको अनुगमन गर्दै जनमैत्री सुशासन स्थापना गर्नका निम्ति कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । उनले कार्यालय प्रमुख शाखा अधिकृत तेजनारायण झालाई निर्देशन दिदै भने, ‘यस कार्यालयको सम्बन्धमा अनेकौ गुनासो आईरहेको छ ।’ अरुमाथि अनुगमन गर्ने अधिकार प्राप्त संस्था ईलाका प्रशासन कार्यालय आफु जनमैत्री र नमुना हुनेजस्तो कार्य गर्नुपर्ने आवश्यक रहेको र यसलाई मनन गर्दै कार्यसम्पादन गर्नुपर्ने धारणा प्रमुख जिल्ला अधिकारी कवारीले व्यक्त गरे ।

सो अनुगमनको टिममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नकुल पोखरेल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक विनोद केसी र राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारी लगायत रहेका थिए ।




