धनुषाको लक्ष्मीनिया गाउँपालिकामा तालाबन्दी गरिएको छ।
लक्ष्मीनिया गाउँपालिकामा विगत ४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिंदै तालाबन्दी भएको छ।
आईतबार लक्ष्मीनिया गाउँपालिका नेपाली कांग्रेस कार्य समितिले पालिकाको कार्यालयमा ताला लगाएको हो । तालाबन्दी आज दोश्रो दिन पनि जारी रहेको छ। राजनितीक विवादका कारण पालिकाको प्रशासनीय लगायत सम्पूणर् काम काज ठप्प रहेको छ । प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झा हाजिर भएदेखि नै विवाद शुरु भएको हो ।
गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले नेकपा एमालेका नेता रघुवीर महासेठको हस्तक्षेपको कारणले विवाद उत्पन्न भएको बताउनुभयो । उहाँले विवाद समाधानको लागि पहल गरिरहेको र चाडै नै समाधान गरी पालिका संचालनमा ल्याउने बताउनुभयो ।
कर्मचारीहरुले साउन महिनादेखि तलब भत्ता खान पाएका छैन्न भने समाजिक सुरक्षा वितरण कार्यसमेत प्रभावित भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारी धर्नामा
त्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेका छन् ।
नगरपालिकाकाका कर्मचारीहरुले साउन देखि अहिले सम्म तलब खान नपाएको भन्दै अननिश्चितकालिन धर्नामा बसेका छन् ।
विभिन्न चरणमा आन्दोलन गर्दै आएका क्षीरेश्वनाथ नगरपालिकाकाका कर्मचारीहरुले यहाँका जनप्रतिनीधिहरु नगरसभा नभएको हबाला दिँदै तलबभत्ता रोकेपछि आईतबारदेखि अनिश्चितकालिन धर्नामा बसेर आन्दोलन चर्काएका हुन् । धर्ना आज दोश्रो दिन पनि जारी रहेको छ।
यसअघि नै तलबभत्ताको लागि नगर प्रमखुसहित विभिन्न वडाका वडाध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएपनि कुनै प्रकारको सुनुवाइ नभएको भन्दै बाध्य भएर आन्दोलनमा जानु परेको कर्मचारीहरु बताउँछन् ।
जनप्रतिनीधिहरुको आन्तरिक किचलोको कारण क्षीरेश्वरनाथ नगरपालिकामा बजेट पारित नहुँदा कर्मचारीहरु भोकै बस्न बाध्य भएपछि आन्दोलनमा उत्रेका हुन् ।
माग पुरा नभएसम्म आन्दोलन नरोकिने कर्मचारीहरुले जनाएका छन् ।
यता पालिका मेयर सुखदेव यादवको असक्षमताको कारण नगर सभा हुन नसकेको आरोप वडा अध्यक्षहरुले लगाएका छन् । मेयर यादवले एकलौटी ढंगबाट पालिका संचालन गर्न खोजेको हुँदा नगरसभा हुन सकेको कार्यपालिकाका सदस्य दिपक साहले बताउनुभयो ।
मेयर सुखदेव यादवले आफू कोष तथा लेखा नियन्त्रण कार्यालय संग छलफल गरेर कम्तिमा कर्मचारीहरुको तलब खुवाउने बन्दोबस्तमा लागेको बताउनुभयो । यद्यपी नगर सभा नभए सम्म पालिकाको खाता संचालन नहुने अवस्था रहेको छ।
यी पालिकाहरुमा कर्मचारीहरुले दसै, तिहार र छठ जस्ता चाड पर्वमा तलब पाउन सकेको छैन भने समाजिक सुरक्षा भत्ता नपाएर जेष्ठ नागरीक, विधुवा , अपांग लगायत पीडित बनेका छन्।
दैनिक कामकाजको लागि आउने सर्वसाधारण जनताहरु काम नभइ त्यसै फर्केर जान बाध्य छन् ।
स्थानीय क्षीरेश्वरनाथ नगरपालिकाका एक युवा अगुवा मनोज साहले असक्षम नेतृत्वले गर्दा पालिकाको दुर्दशा भएको बताउनुभयो । उाँले अब जनताहरु जागरुक हुनु पर्ने पढेलेखेका युवाहरुले राजनीतिमा आउनुको विकल्प नरहेको बताउनुभयो ।
पालिकामा निर्वाचन दलगत भन्दा पनि स्वतन्त्र बिना दलिय प्रणालीबाट चुनाव लड्ने व्यवस्था गरिनु पर्ने माग उठ्न थालेको छ।




