सर्लाही – सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा आज बिहानैदेखि यातायात र बजार ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ। जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले पार्टीका मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवमाथि झुठो मुद्दा दायर गरिएको भन्दै मलंगवामा दुई दिनको लागि बन्द आह्वान गरेको हो।
पार्टीले हिजो प्रेस विज्ञप्ति जारी गरी आज (शनिबार) र भोलि (आइतबार) मलंगवामा सम्पूर्ण यातायात र व्यापारिक गतिविधि बन्द गराउने निर्णय गरेको थियो। शुक्रबार साँझ मसाल जुलुस निकाली विरोध प्रदर्शन गरिएको थियो। जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले पार्टी अध्यक्ष अशोक यादवमाथि लगाएको झुठो मुद्दा, साथै जिल्लाका सरकारी कार्यालयहरूमा भइरहेको भ्रष्टाचार, लुटतन्त्र र मनोमानीको विरोध स्वरूप बन्द गरिएको जनाइएको छ।



असार १९ गते राति एसपी खड्कासँग टेलिफोनमा गालीगलौज भएको घटनापछि यादव फरार छन्। सर्लाही जिल्ला अदालतले असार २० गते नै ‘आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा उनलाई पक्राउ अनुमति दिएको हो। यद्यपि फरार रहेका यादवले आफ्नो सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भिडियो तथा अन्तर्वार्ता प्रकाशन गरिरहेका छन्। यस घटनाले जिल्लाको राजनीतिक माहोल तातेको छ भने आम सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ।
सम्बन्धित निकायबाट तत्काल समस्या समाधान र संवादमार्फत परिस्थिति सामान्य पार्नुपर्ने माग सर्वत्र उठ्न थालेको छ।




