महोत्तरी – “संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको” भन्ने मूल नारासहित औरही नगरपालिकाले असार ३२ गते, बुधवार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख प्रदिप कुमार खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो।
नगर प्रमुख खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण संरक्षणलाई आजको अत्यावश्यक आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, “हरित वातावरण सबैका लागि हो, त्यसका लागि सबैको प्रयास आवश्यक छ।” उहाँले वातावरणमैत्री योजना तथा अभियानहरूलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाउनुभयो।



कार्यक्रममा उप–नगर प्रमुख रेणु झा तथा जिल्ला सभापति सुमनलाल कर्ण विशेष अतिथिको रूपमा सहभागी हुनु भयो। उनीहरूले वृक्षारोपणलाई औपचारिकतामा मात्र सीमित नराखी वातावरणीय उत्तरदायित्वका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउँदै स्वच्छ तथा सुरक्षित वातावरणको जग बसाल्न यस्ता क्रियाकलापलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रम अन्तर्गत नगरपालिकाको विभिन्न स्थानमा सयौं बिरुवा रोपिएको छ।
फलफूलका र बहुपयोगी जातका बिरुवाहरूलाई प्राथमिकता दिइएको कार्यक्रमले हरियाली प्रवर्द्धन, वातावरणीय चेतना अभिवृद्धि तथा जलवायु परिवर्तनको प्रतिरोधमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय युवा, विद्यालयका विद्यार्थी, महिला समूह, कर्मचारी तथा सामाजिक संस्थाको सक्रिय सहभागिताले कार्यक्रम उत्साहजनक र ऊर्जावान बनेको थियो।
नगरपालिकाले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै वातावरण संरक्षणमा समुदायको सहभागिता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




