मलाई विश्वास छ, कुनै दिन म मात्रै होइन्, मेरो गाउँ नै खेलाडीले भरिभाउ हुनेछ ।
गाउँका सानी बहिनीले क्रिकेट खेलेको देख्दा पुराना याद आउँछन् । कुनै दिन म पनि दिल्लीमा यसैगरी चर्को घाममा क्रिकेट खेल्थें । ब्याट र बलसँग संघर्ष गर्थें । क्रिकेट सिक्न धेरै कडा मेहनत गरें । खेलमा घाम हुँदैन, पानी हुँदैन । बिहान हुँदैन, राति हुँदैन । बुवाले मैदानमा लिएर जानुहुन्थ्यो, अभ्यास गराउनुहुन्थ्यो । घाम छ, डढेर काली हुन्छु कि भनेर कहिल्यै सोचिन् । जेजे समस्या आए, सबै दुःख गरेँ । खेल्दै, सिक्दै राष्ट्रको नाम विश्वमा चम्काउन सफल भएँ ।



असाध्यै खुसी लागिरहेको छ । हाम्रो गाउँको महिला क्रिकेट टिममा ट्यालेन्ट खेलाडी उत्पादन हुने आशा र विश्वास छ । सिकाएअनुसारको प्रगति हुँदै छ । खेलाडी, परिवारजन, समाजबाट साथ पाउनु नै यहाँका छोरीका लागि एकदमै ठूलो कुरा हो । सबै गाउँमा यस्तो भइदिएको भए, के हुन्थ्यो, हुन्थ्यो ?
बुवाआमाले नै क्रिकेट खेल्न छोरीहरूलाई पठाइरहनुएको छ । दुई वर्षअघि म गाउँ आउँदा निकै कमले मलाई चिन्थे । अहिले सबैले चिन्छन् । फुटबल, क्रिकेट, भलिबलजस्ता खेलका धेरै खेलाडीहरू अभ्यास गरिरहेका छन् । यो राम्रो संकेत हो । खेलमा कोही पनि सानो/ठूलो हुँदैन । जसलाई टेक्निक आउँछ, ऊ अगाडि जान्छ । तर, खेलमा सामूहिक शक्ति भने पक्कै हुन्छ ।
खेल खेल्दा पढाइ भने छोड्नुहुँदैन । पढाइ एकदमै महत्वपूर्ण हुन्छ । स्कुलमा जाने पढ्ने गर्नैपर्छ । त्यसबाहेकको समयमा ध्यान दिएर खेल्नुपर्छ । क्रिकेट खेल जीवनभरिका लागि हुँदैन । पढाइ त जीवनकालसम्म काम लागिरहन्छ । मैले क्रिकेट खेलिरहेकी थिएँ । तर, सँगै पढाइलाई अघि बढाउन सकिनँ । खेलसँगै पढाइ पनि आवश्यक छ । आज गाउँमा एउटा पूजा महतो छ, आउँदा दिनमा धेरै पूजा महतोहरू देख्ने चाहना छ । मलाई विश्वास छ, कुनै दिन म मात्रै होइन, मेरो गाउँ नै खेलाडीले भरिभाउ हुनेछ ।
– पूजा महतो, उपकप्तान, नेपाली महिला राष्ट्रिय क्रिकेट टिम
-अन्नपूर्ण पोस्ट





