जनकपुरधाम- सिरहाबाट १०३ र पर्साबाट ८ किलो लागु औषध गाजा सहित १० जना पक्राउ परेका छन् । सिरहाको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु तथा खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेको बताए । भरियामा गोलबजार नगरपालिका–१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् ।



रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार नगरपालिका–१ मक्सारकै ३२ वर्षीय जीवछ साह रहेका छन् । यस्तै, खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद ग्राम पञ्चायत–१४ का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी रहेका छन् । चौधरीको साथबाट नेपली रूपैयाँ ४५ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरी उपरीक्षक शर्माका अनुसार गाँजा पाँचवटा बोरामा हालेर आँपको बगैचामा लुकाइ राखिएको थियो ।
प्रारम्भमा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई केरकार गर्दै जाँदा बाँकी समूह गाँजासहित फेला परेको हो । त्यसैगरी पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोलाबाट प्रहरीले ८ किलो ४४० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति पर्सागढी नगरपालिका–९, एकटंगाका ३४ वर्षीय जगमोहन यादव हुन्। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले भारततर्फ गइरहेको बीआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजासहित यादवलाई पक्राउ गरेको हो। गाँजा मोटरसाइकलको सिटमुनी र शरीरमा बाँधिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
हाल पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले चेकजाँच अभियानलाई अझ कडा बनाउने तयारी गरेको बताइएको छ। पक्राउ परेकाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




