धनुषा ।धनुषाको ढल्केवरमा उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषका विषयमा अभिमुखिकरण गरिएको छ । ढल्केवरस्थित कोमल होटलमा मधेश प्रदेश उद्योग परिसंघ र सामाजिक सुरक्षा कोष शाखा कार्यालय जनकपुरको उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष जनकपुर शाखाका कार्यालय प्रमुख कैलाश यादवले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रकृया, प्राप्त हुने लाभ र आस्रित परिवारले पाउनेसेवा सुविधा लगायतका विविध विषयमा जानकारी गराएका थिए।

यादवका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । जसमा योगदानकर्ता कामदारको नाममा मासिक तलवको ३१ प्रतिशतको दरले रकम जम्मा हुन्छ । त्यसमध्ये कामदारको तलवबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने उनले जानकारी दिए।



त्यसवापत कोषले दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालिन पेन्सन लगायतका सेवा प्रदान गर्दछ । उक्त कोषमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र वैदेशिक रोजगारदाता पनि यो कोषमा आवद्ध हुन सक्नेछन् ।
मधेश प्रदेश उद्योग परिसंघका अध्यक्ष प्रमोद साहले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई भविश्यमा आईपर्ने आर्थिक संकटको सामना गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधा समेत प्राप्त हुने भएकाले निम्न आय भएका व्यक्तिका लागि बलियो टेवा पुग्ने भनाई राखे। उनले भने, ‘सरकारको स्वामित्वमा रहेका संस्थाहरू अझै पनि कोषमा नजाँदा चुनौती छ ।
त्यस्तै, उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा श्रमिकलाई दिईने न्यूनतम पारिश्रमिक एकदमै राम्रो रहेको र यहाँको महंगी लगायतका आधारमा ज्यादै न्यून रहेको बताउँदै यी दुई बिचको तारतम्य नमिल्दा युवाहरु विदेश पलायन भईरहेको बताए। उनले सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीहरुको समेत हितमा रहेको बताउँदै यसलाई अझै बैज्ञानिक बनाउन आवश्यक रहेको बताए।
उनले साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा छोटो अवधि काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा कसरी जोड्ने, उद्योगी व्यवसायीलाई त्यसबाट कसरी लाभ दिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिईनुपर्ने बताए।




