सुजाता राई
काठमाडौंको कमलादी वस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा ‘हामी र हाम्रो कृति समाज’ का अध्यक्ष मदन नेपालज्यूको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उषा शेरचनज्यूको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा “हामी र हाम्रो मुक्तक सङ्ग्रह’ तेस्रो श्रृङ्खला १२३ जना स्रष्टाको १४७६ मुक्तक सङ्ग्रहित ५०४ पृष्ठको संयुक्त मुक्तककाव्य लोकार्पण सहित स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।



कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका सचिव तथा साहित्यकार बद्री उप्रेतीले उपस्थित सम्पूर्ण श्रष्टाहरूलाई स्वागत सम्मान सहित संस्थाले अहिलेसम्म गरेका गतिविधिहरूको बारेमा जानकारी दिनुभएको थियो। ‘हामी र हाम्रा कृति समाज’का संस्थापक सदस्य तथा मुक्तककार नवराज ‘नवशिला’ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लोकार्पित मुक्तककाव्य कृतिको समीक्षा समालोचक एवम् इतिहासविद् विश्लेषक प्रा.डा. गोबिन्दमान सिंह कार्की अत्यन्त गहन एवम् सुन्दर ढङ्गले गर्नुभएको थियो। उहाँले यो कृति एउटा महाकाव्य बराबर भएको र कृतिभित्र संस्थाहरूले दिनुभएको सन्देश निकै उत्कृष्ट भएको कुरा व्यक्त गर्दै यस प्रकारको कार्य गर्न निकै कठिनाइ हुने कुरा समेत बताउनुभएको थियो। हामी र हाम्रो कृति समाजले निरन्तर यसरी गरेका कार्यहरूको साक्षी भएर यसअघि पनि आफूले धेरै श्रष्टाहरुका कृतिमाथि समीक्षात्मक भूमिका निभाइसकेको कुरा डाक्टर कार्कीले व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाले वार्षिक रूपमा प्रदान गर्ने पुरस्कार तथा सम्मानको कार्यक्रम ३ जना साहित्यकारहरुलाई जनही १११११ तथा सम्मानपत्र सहित प्रदान गरेको थियो। यस संस्थाले वरिष्ठ साहित्यकार सरूभक्त श्रेष्ठको नामबाट वर्षभरि निस्किएको एउटा पुरुषको मुक्तकृतिलाई यो सम्मान दिएको हो। उक्त सम्मान पाउने स्रष्टा मकवानपुर हेटौडाका किशन पौडेल रहनुभएको छ। त्यसैगरी वर्षभरि निस्किएका महिलाहरूका मुक्तकृतिमध्ये मुक्तककार मीना चौलागाईंले वरिष्ठ साहित्यकार उषा शेरचन सम्मान पुरस्कार प्राप्त गर्नुभएको छ। यस संस्थाले वर्षभरि निस्किएका पुस्तकहरूबाट उत्कृष्ट पुस्तकमध्ये एक पुस्तकलाई दिने पुरस्कार साहित्यकार तथा मुक्तकार शैलेन्द्रकुमार थापालाई प्रदान गरेको छ। यो पुरस्कार वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल को सम्मानमा स्थापित गरिएको छ।
यसैगरी संस्थाले तीनजना साप्ताहिक पत्रिकाका सम्पादकलाई समेत रु पाँच हजार एक सहित सम्मान गरेको छ। सम्मानित हुने पत्रिका तथा सम्पादकहरूमा क्रमश: डा. अश्वत्थामा भक्त खरेल ( सम्पादक, दिव्य चक्षु साप्ताहिक ) सुशिल तिवारी ( सम्पादक, दिव्य दर्शन राष्ट्रिय साप्ताहिक ) मुक्ति बास्तोला ( सम्पादक, रहस्य साप्ताहिक ) रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्रमश: पूर्व स्वास्थ्यमन्त्री माननीय गगन कुमार थापा, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी (उपाध्यक्ष, नेपाल मुक्तक प्रतिष्ठान), लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, वरिष्ठ साहित्यकार तथा आख्यानकार डा. छवि वैरागी घिमिरे रहनुभएको थियो भने अतिथिमा सुनिल अधिकारी ( अध्यक्ष, हातेमालो साहित्य संगम ), निलाञ्जला भारद्वाज ( अध्यक्ष, मुक्तकालय नेपाल ), प्रकाश घायल ( सचिव, नेपाल स्रष्टा समाज ), राजन न्यौपाने (संयोजक, व्यावस्थापक नोबेल साकोस साहित्य संस्था ) लगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अतिथिज्यूहरूले हामी र हाम्रो कृति समाजले गरेको यस प्रकारको कार्य अहिलेसम्म कुनै पनि संस्थाले गर्न नसकेको धारणा व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि उषा शेरचनज्यूले मदन नेपाल तथा बद्री उप्रेतीको यो टिमलाई नै सदासदा आफुले नजिकबाट नियालिरहेको र यति सुन्दर कार्य गरेकोमा हृदयबाट नै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित श्रष्टाहरूलाई संस्थाकी उपाध्यक्ष नम्रता उप्रेती तथा संस्थाकी सदस्य आभा भुजेलले खाँदा लगाएर सम्मान गर्नुभएको थियो।

कार्यक्रमका सभापति तथा हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालले अन्त्यमा सम्पूर्ण उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँहरूकै प्रेरणा र सहयोगबाट यस प्रकारको कार्यक्रम सम्भव भएको कुरा व्यक्त गर्नुभएको थियो। हामी र हाम्रो कृति समाज एउटा माध्यम मात्र भएको र यसलाई सफल बनाउन यस कृतिभित्र अटाउनुभएका १२३ जना व्यक्तित्वहरूको ठूलो योगदान रहेको भन्दै आज गरिएका सम्मान समेत उहाँहरुले नै सहयोग गर्नुभएको सानो सानो रकमबाट सम्भव भएको कुरा व्यक्त गर्दै सम्पूर्ण सहयोगी मुक्तकारहरु तथा सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको कुरा अवगत गराउनु भयो। भव्यरूपमा सम्पन्न उक्त कार्यक्रममा १६० जना भन्दा बढी साहित्य सर्जक श्रष्टा तथा साहित्य अनुरागीहरूको उपस्थित रहेको थियो। त्यसमध्ये आज लोकार्पित संयुक्त कृतिमा समेटिनु भएका १२३ जना मुक्तककारहरूमध्ये करिब ६० जना मुक्तकारहरू स्वयं कार्यक्रममा उपस्थित हुनुभएको थियो। १२३ जना स्रष्टाहरूलाई संस्थाले प्रकाशन गरेको संयुक्त कृति ६ /६ प्रति उपलब्ध गराएको थियो।




