जनकपुरधाम | जेनजी पुस्ताले धनुषा जिल्लाका विभिन्न स्थानमा भइरहेको आन्दोलन र त्यस क्रममा हिंसात्मक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जनकपुरधामका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मङ्गलबार दिनको ३ बजेदेखि भदौ २५ गते विहान ७ बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको जनाउनुभएको हो । भदौ २४ गतेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशले तोकिएको क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्णरूपमा भदौ २५ गते विहान ७ बजे सम्मको लागि निषेध गरिएको हो। कर्फ्यु आदेश तोडफोड वा उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।




निषेधित क्षेत्रहरुमा मधेस भवनको उत्तर पर्ने मुसहरी टोल चोक वडा नं १३ को भाग देखि दक्षिण क्षेत्र, मधेस भवनको उत्तर पश्चिम क्षेत्र मुजेलिया हाइ वे सडक बाबा पेट्रोलपम्प देखि दक्षिण हुँदै लादोके दुधमती पुल सम्म, पूर्वमा घाँसेमैदान चरण क्षेत्रको पश्चिम कदमचोकको पूर्व पर्ने जलाद पुलबाट पश्चिम तर्फ , दक्षिणमा हनुमान नगरको सिक्स लेनको चोक देखि पश्चिम तर्फ र पश्चिममा ढल्केवर भिट्टामोड हाइवेको जनकपुर क्षेत्र सम्म लागु हुने गरि कर्फ्यु आदेश जारी गरिएको हो ।






