जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि आफूले परमादेशको पत्र मंगलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताए ।
उनले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको जानकारी दिए ।



‘विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेशमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ । ती सबै दलले मलाई सघाउँछन्’, उनले भने । सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश भएको थियो ।
यादव प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । बहुमतका आधारमा सरकार बनाउने आग्रह अन्य दलहरूले गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसपछि भण्डारी पदमुक्त भएकी थिइन् भने ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा रिट हालेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।




