जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदभार ग्रहण गरेका छन् ।
आइतबार पद तथा गोपनियताको शपथग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिए । उनले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताए । सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुने गरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरूबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्न सक्ने कार्यहरू छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए । अब मधेस प्रदेशमा स्थायित्व कायम हुने उनको भनाइ छ ।
मुख्यमन्त्री यादवसंग अहिले अर्थ मन्त्रालयबाहेकका सम्पूर्ण मन्त्रालयहरु रहेको छ ।


