काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो ।
सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोड्नुभयो ।
सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट हात पार्दा कप्तान दिपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एकएक विकेट हात पार्नुभयो ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्ता दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्नु भएको थियो । बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनु भयो । कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०/१० रन बनाउनु भयो ।अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सक्नु भएन ।
सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ । ११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गर्नु भएको हो । । यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन तीन तथा तिलक भण्डारीले एक विकेट लिनुभयो ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो । सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो । सुदूरपश्चिम अघिल्लो सिजनको समेत उपविजेता टिम हो । यो हारसँगै सुदूरपश्चिमले लगातार फाइनल पुगेर हारको सामना गरेको हो ।




