महोत्तरी – गौशाला नगरपालिका–१, रामनगरस्थित मुलुककै ठूलो चिनी उद्योग एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा उखु लिएर पुगेका किसान र सवारी चालकहरू आधारभूत सुविधाको अभावमा कठिनाइ भोग्न बाध्य भएका छन्।

चिनी उपभोगकर्ताका लागि गुलियो भए पनि उखु उत्पादन गर्ने किसान तथा उखु ढुवानी गर्ने चालकका लागि मिलको अवस्था अमिलो बनेको छ। मिल परिसरमा किसान र चालकका लागि व्यवस्थित विश्राम आवास नहुँदा उनीहरू कति दिन सम्म आफ्नै सवारी साधनमै वा ट्र्याक्टरको मुनि रात बिताउन बाध्य छन्।

क्यान्टिनको पर्याप्त व्यवस्था नहुँदा खानपिनमा समस्या देखिएको छ। सीमित सुविधा भएका कारण बाहिरबाट महँगो मूल्यमा खाना ल्याउनुपर्ने बाध्यता रहेको किसान र चालकहरूको गुनासो छ।

सबैभन्दा गम्भीर समस्या भने शौचालयको अभाव रहेको छ। पर्याप्त शौचालय नहुँदा वृद्ध किसान तथा चालकहरू झनै असहज छन्। कतिपय अवस्थामा घण्टौँसम्म पालो कुर्नुपर्ने वा खुला स्थान प्रयोग गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ।

भंगहा नगरपालिका–७ का ट्र्याक्टर चालक रबिन्द्र गिरिले भने, “बस्ने, खाने र शौचालयजस्ता न्यूनतम सुविधा नहुँदा चालक र किसान दुवैलाई ठूलो समस्या भइरहेको छ।”

औरही नगरपालिका–२ का किसान दिनेश यादवले चिनीमिलको अव्यवस्थाले किसानको उत्पादन लागत बढाएको बताए। “उखु खेतीमै धेरै खर्च हुन्छ, त्यसपछि मिलमा दिनौँ कुर्नुपर्दा समय र खर्च दुवै बढ्छ,” उनले भने।

औरही नगरपालिका–१ का बासिन्दा फेकन यादवले उद्योग अवलोकनका क्रममा देखिएका समस्याले मानवीय मर्यादामाथि प्रश्न उठाएको बताए। “हजारौँ किसान आउने उद्योगमा आधारभूत सुविधा नहुनु गम्भीर विषय हो,” उनको भनाइ छ।

गौशाला नगरपालिका–१, रामनगरका स्थानीय बासिन्दा संजय सिंहले मुलुककै ठूलो चिनी उद्योगमा न्यूनतम पूर्वाधारको अभाव दुःखद भएको बताए। “राज्यलाई ठूलो योगदान गर्ने उद्योगले किसान र चालकका लागि आधारभूत सुविधा सुनिश्चित गर्नुपर्छ,” उनले जोड दिए।

स्थानीय पत्रकार दिनेश्वर महतोले भने, “एभरेस्ट सुगर मिलमा चालक र किसानको पिडा देख्दा मन दुख्छ। हजारौँ किसान आफ्नो मेहनतको उखु लिएर मिहिनेत गर्छन्, तर यहाँ उनीहरूका लागि बस्ने, खाने र शौचालयजस्ता आधारभूत सुविधा छैन। घामपानीमा ट्र्याक्टरको मुनि रात काट्नुपर्ने, खाना नपाएर दुःख सहनुपर्ने अवस्था यस्तो ठूलो उद्योगको लागि लज्जास्पद छ। सम्बन्धित निकायले तत्काल हस्तक्षेप गरी व्यवस्था सुधार गर्न आवश्यक छ।”

किसान तथा चालकहरूले चिनीमिल व्यवस्थापन, सम्बन्धित किसान संघ र कृषि मन्त्रालयको ध्यानाकर्षण गराउँदै विश्राम आवास, क्यान्टिन र पर्याप्त शौचालयको तत्काल व्यवस्था गर्न माग गरेका छन्।






