महोत्तरी - सूर्या डर्मा एण्ड कस्मेटिक क्लिनिक, अस्पताल रोड, जनकपुरधाम–१० र जलेश्वर नगरपालिकाको संयुक्त आयोजनामा जलेश्वरमा निःशुल्क छाला सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।आयोजकका अनुसार २०८२ साल भदौ १९ गते शनिबार जलेश्वर नगरपालिका वडा नं. ७, महादेवपट्टीस्थित आधारभूत विद्यालयमा शिविर आयोजना गरिनेछ। शिविरमा छाला, कुष्ठ, यौन तथा सौन्दर्य (कस्मेटिक) सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिनेछ।
शिविरमा जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डा. जितेन्द्र यादव (एम.बी.बी.एस., एम.डी.–छाला तथा यौन रोग, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) ले सेवा प्रदान गर्नुहुनेछ। डा. यादवले छाला रोगलाई सामान्य ठानी बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्ने भन्दै समयमै परीक्षण र परामर्श लिन आग्रह गर्नुभयो।छाला, कुष्ठ तथा यौन रोगका विषयमा समाजमा अझै पनि लाज र भ्रम कायम रहेकाले धेरै बिरामी उपचारबाट टाढा छन्,उहाँले भन्नुभयो,यस्ता निःशुल्क स्वास्थ्य शिविरले प्रारम्भिक चरणमै रोग पहिचान र उपचारमा ठूलो सहयोग पुर्याउँछ।
जलेश्वर नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्तो शिविर आयोजना गरिएको जनाएको छ। नगरपालिकाका अनुसार सर्वसाधारणलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले निजी स्वास्थ्य संस्थासँग सहकार्य गरिएको हो।नगरभित्र छाला सम्बन्धी समस्या बढ्दै गएकाले जनचेतना अभिवृद्धि र निःशुल्क उपचार सेवा प्रदान गर्न शिविर आयोजना गरिएको हो,नगरपालिकाले जनाएको छ।
आयोजकले जलेश्वर नगरपालिका अन्तर्गतका सम्पूर्ण बासिन्दालाई उक्त अवसरको अधिकतम उपयोग गर्दै निःशुल्क छाला स्वास्थ्य परामर्श लिन अनुरोध गरेका छन्।





