महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका–४ मा वीरता सपोर्ट्स क्लब गौशालाको आयोजनामा सञ्चालन भइरहेको स्वर्गीय रामलखन चौधरी स्मृति कप फुटबल प्रतियोगिता २०८२ को १४औँ संस्करणअन्तर्गत आज सम्पन्न दुवै खेल रोमाञ्चक बनेका छन्।
आजको पहिलो खेलमा गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित सामुदायिक विकास युवा क्लब र टुटेश्वर युवा क्लबबीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्धारित समयभर दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि टुटेश्वर युवा क्लबले सामुदायिक विकास युवा क्लबलाई ४–२ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

त्यस्तै,आजै सम्पन्न दोस्रो खेलमा जिएम स्पोर्ट्स एकेडमी अपेक्षित प्रदर्शन गर्न नसक्दा तारेचौरी एफसीले अवसरको सदुपयोग गर्दै १–० गोलको जित दर्ता गरेको छ। यससँगै तारेचौरी एफसीले पनि प्रतियोगितामा आफ्नो विजयी यात्रा सुरु गरेको छ।
वीरता सपोर्ट्स क्लब गौशालाका अध्यक्ष शिवशंकर चौधरीले प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार खेलकुदले युवामा अनुशासन, सहकार्य र लक्ष्यप्रति प्रतिबद्धता विकास गर्न सहयोग पुर्याउँछ।

यसैगरी,क्लबका सल्लाहकार इन्दल राउतले स्वर्गीय रामलखन चौधरीको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिताले खेलकुदसँगै सामाजिक एकता मजबुत बनाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,स्थानीयस्तरमै निरन्तर प्रतियोगिता आयोजना गर्न सके प्रतिभावान खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने सम्भावना बढ्छ। समुदायको साथ र सहयोगले प्रतियोगिता थप व्यवस्थित र सफल बन्दै गएको छ।

राउतले युवालाई लागुऔषध दुव्र्यसनबाट जोगाउन खेलकुद प्रभावकारी माध्यम भएको पनि बताउनुभयो। उहाँका अनुसार आजका युवालाई लागुऔषधको जोखिमबाट बचाउन खेलकुदजस्ता स्वस्थ गतिविधिमा जोड दिन आवश्यक छ।यस्ता प्रतियोगिताले युवालाई व्यस्त,अनुशासित र सकारात्मक बनाउँदै समाजका लागि जिम्मेवार नागरिक तयार गर्न सहयोग पुर्याउँछन्,उहाँले भन्नुभयो।
स्थानीय खेलप्रेमी लभ कुमार ठाकुरले प्रतियोगिताले गौशालामा खेलकुदको माहोल सिर्जना गरेको बताउनुभयो।उहाँले भन्नुभयो,यस किसिमका प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनुका साथै दर्शकलाई पनि स्तरीय र मनोरञ्जनात्मक खेल हेर्ने मौका मिलेको छ। निरन्तर यस्ता प्रतियोगिता भए युवा पुस्ता गलत बाटोमा लाग्नबाट जोगिन्छ।

आयोजकका अनुसार प्रतियोगिताका आगामी खेलहरूमा अझ कडा प्रतिस्पर्धा र रोमाञ्चकता देखिने अपेक्षा गरिएको छ। स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगिताको वातावरण थप उत्साहपूर्ण बनेको छ।


