महोत्तरी- समाजिक विभेदकै कारण छोरीहरु उच्च शिक्षा पढन नसकेको प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताएका छन् ।
शुक्रवार महोत्तरीको गौशाला स्थित श्रीमावि भेडियाही फुलकाहामा आयोजित साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले समाजिक स्तरमा रहेको कुरिती र कुसंस्कारजस्ता गलत मनोभाव कै कारण छोरीहरु उच्च शिक्षातर्फ फडको मार्न नसकेको मन्त्री साहले स्वीकार गरेका हुन् ।
शैक्षणिक क्रियाकलापलाई स्तरोन्नती निम्ति समाजमा शिक्षक र विद्यार्थी र शिक्षाप्रेमीको सकारात्मक भुमिकाको आवश्यकता उपर मन्त्री साहले जोड दिए । मन्त्री साहले भने, ‘शिक्षाको जिम्मेवारी तीनैतहका सरकारलाई वाँडिएको छ । जसको कारण एक अर्काको भरमा पर्दा शैक्षिक क्षेत्रमा सोचेअनुरुपको विकास हुन सकेको छैन् ।’
सोहीवीच प्रतिनिधीसभा सदस्य दिलकुमारी साहले कोरोनाका कारण लामो समयदेखि पठनपाठन अवरुद्ध रहेको समयमा शिक्षकहरुले समयमै कार्यसम्पादन गरिदिनका लागि शिक्षकहरुसमक्ष आग्रह गरेकी छिन् । स्थानिय सरकार नजिककै सरकार भएको हैसियतले प्रत्यक्ष रुपमा शिक्षा विकासका निम्ति भुमिकामा आउनुपर्नेमा साहले जोड दिईन् ।१६ दिने लैङ्गिक हिंसामुक्त अभियान संचालन भईरहेको समयमा हिंसालाई न्युनिकरण हुने किसिमको भुमिका निर्वाह गरिदिनका लागि गौशाला नगरपालिकाका उपमेयर आशा लामाले जोड दिईन् । उपमेयर लामाले भनिन्,‘लैङ्गिक हिंसाको शिकारमा समाजमा महिला मात्र होईन्, पुरुष पनि प्रत्यक्ष रुपमा यसको शिकारमा फस्दै आएका छन् । समाजिक कुरितीका तत्वहरु वालवाविवाह, महिलाहिंसा लगायतका प्रवृतिको अन्त्य गर्नका लागि सवैको भुमिकाको आवश्यक रहेको छ ।’

२६ छात्रालाई साईकल वितरण
श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहामा कक्षा ९ मा अध्ययनरत २६ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । प्रदेश २ का सरकारको वेटी पढाउ, वेटी वचाउ अभियान अन्र्तगत गत शैक्षिक सत्रमा प्राप्त भएको सो साईकल सोही विद्यालयमा अध्ययनरत छात्राहरुलाई मन्त्री साहले साईकल वितरण गरेका हुन् ।





