महोत्तरी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अघि बढिरहेको सन्दर्भमा महोत्तरी जिल्लामा शान्ति–सुरक्षा र अमनचयन कायम राख्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक गतिविधिमा कडाइ गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचनाअनुसार जिल्लाभित्र क्रियाशील राजनीतिक दल तथा दलनिकट भातृ संगठनहरूले आयोजना गर्ने राजनीतिक सभा, सम्मेलन तथा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा प्रशासनलाई जानकारी गराई अनुमति लिनुपर्नेछ । अनुमति बिना कार्यक्रम आयोजना नगर्न प्रशासनले आग्रह गरेको छ ।



सूचनामा राजनीतिक कार्यक्रममा सहभागी हुन जाने आउने क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न र नगराउन समेत निर्देशन दिइएको छ । निर्वाचनको संवेदनशील समयमा सरकारी साधनको दुरुपयोग रोक्न तथा निष्पक्ष वातावरण सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको प्रशासनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलद्वारा जारी सूचनामा निर्वाचन अवधिभर शान्ति, सुरक्षा र कानुन व्यवस्था कायम राख्न सबै राजनीतिक दल, संगठन र सरोकारवालाको सहकार्य अपेक्षित रहेको उल्लेख गरिएको छ ।
प्रशासनले तोकिएको मापदण्ड र कानुनी प्रक्रिया पालना नगरे कारबाही हुन सक्ने भन्दै सबैलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गरेको छ ।




