जनकपुरधाम – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँलाई अधिकार माग्ने नभई घुम्ने ठाउँको संज्ञा दिएका छन् ।
आज मधेस प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको विशाल जनसभालाई सम्बोधन गर्दै शाहले मधेसको अधिकार, समाजवादको आफ्नै व्याख्या र आगामी निर्वाचनमा रास्वपालाई मतदानका लागि आह्वान गरेका हुन् ।



शाहले आफ्नो भाषणको सुरुवातमा नै काठमाडौँ अधिकार माग्न आउने ठाउँ नभई घुम्न जाने ठाउँ भएको बताए । यस क्रममा उनले उखु किसानको आन्दोलनलाई जोड्दै मधेसले अधिकार नपाएको विषयलाई समेत उठाए ।
प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृत फेर्न नसक्ने र त्यसका लागि काठमाडौँ धाउनुपर्ने अवस्थाको प्रसङ्ग निकाल्दै उनले अधिकारको प्रत्याभूतिका लागि वर्तमान प्रणालीमा रहेका चुनौतीहरूबारे बताए ।
बालेन्द्र शाहले काठमाडौँमा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराइएको कार्यलाई समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे ।
उनले मन्दिर र पोखरी संरक्षणका आफ्ना कामहरू पनि उल्लेख गर्दै जनकपुरमा पनि पोखरी संरक्षण आवश्यक रहेको र त्यो काम अब रास्वपाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो पहिलो भाषण भएको र मेयर पदबाट राजीनामा दिएपछि बल्ल फुर्सदमा रहेको बताउँदै उनले आफूलाई काम दिन आग्रह गरे । सभामा उपस्थित जनसमुदायलाई काम गर्न दिने हो भन्दै प्रश्नसमेत गरेका थिए । उनले मिथिलाको पावन भूमिमा आएको बताउँदै पूरै देशमा १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दाबी गरे ।
सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले अन्त्यमा एक मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।




