महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा वडाध्यक्षको नेतृत्वमा तालाबन्दी गरिएको छ। वडा नं. १ का वडाध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबार नगरपालिका पुगेका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन्।
गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी रोक्का गरिएको तथा चालु आर्थिक वर्षको योजना बाँडफाँटमा असमान व्यवहार गरिएको आरोप उनीहरूले लगाएका छन्। सोही कारण नगरप्रमुख डा. दीपेन्द्र महतो तथा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीको कार्यकक्षमा ताला लगाइएको हो।



तालाबन्दीपछि मंगलबार नगरपालिका पुगेका सेवाग्राहीको कामकाज प्रभावित हुनुका साथै कार्यालयको नियमित प्रशासनिक गतिविधि ठप्प भएको छ।
वडाध्यक्ष साहले गत वर्ष सम्पन्न वडास्तरीय योजनाको भुक्तानी नगरप्रमुखले हालसम्म रोकेर राखेको बताए। यस वर्षको योजना बाँडफाँटमा समेत विभेद गरिएको उनको आरोप छ।
अन्य सबै वडामा योजना छुट्याएर बजेट विनियोजन गरिएको छ, तर हाम्रो वडामा काम गर्न नपाओस् भन्ने नियतले एकमुष्ट बजेट राखिएको छ,” उनले आक्रोश व्यक्त गर्दै भने,कतिपय विषयमा आफूले सचेत गराएकै कारण मेयरले सिंगो वडामाथि सौतेनी व्यवहार गरेका छन्।
आफ्नो वडाप्रति गरिएको व्यवहार नसच्याएसम्म ताला नखोल्ने उनले चेतावनी दिए।
यता, गौशाला नगरपालिकाका प्रमुख डा. महतोले स्थानीयस्तरबाट व्यापक गुनासो आएकाले केही योजनाको भुक्तानी प्रक्रिया रोकिएको प्रतिक्रिया दिए।
बोरिङ योजनामा वडाध्यक्षले किसानसँग १–२ लाख रुपैयाँ उठाएको भन्ने गुनासो आएपछि भुक्तानीमा कडाइ गरिएको हो,” उनले भने, “डिप बोरिङ योजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा पनि परेकाले भुक्तानीमा ढिलाइ भएको हो।
योजना बाँडफाँटको विषय नगरसभासँग सम्बन्धित रहेको उल्लेख गर्दै नगरप्रमुख महतोले त्यसको जवाफ सभाले नै दिने बताए। उनले बुधबारदेखि पालिकाको नियमित कामकाज अघि बढ्ने जानकारी दिए।





