महोत्तरी – फागुन महिनामा मनाइने होली पर्वलाई लक्षित गर्दै महोत्तरी जिल्लाको औरही नगरपालिका–१ मालागने औरही बजारमा खसीको मासुको मूल्यमा वृद्धि भएको विषयमा उपभोक्ताले असन्तुष्टि व्यक्त गरेका छन्। अन्य समयमा प्रतिकिलो रु ११०० मा बिक्री हुँदै आएको खसीको मासु हाल रु १२०० देखि १३०० सम्ममा बिक्री भइरहेको स्थानीयले बताएका छन्।
उपभोक्ताले पर्वको अवसरमा व्यवसायीले मनोमानी मूल्य बढाएको आरोप लगाएका छन्। औरही नगरपालिका–१ का श्याम यादवले भने,हामी उपभोक्ता यहीँ बजारमा निर्भर छौँ, बाहिरबाट ल्याउने अवस्था छैन। ११ सय रुपैयाँमै बिक्री गर्न आग्रह गरिएको भए पनि बजारमा मूल्य फरक किन देखिन्छ? अनुगमन प्रभावकारी हुनुपर्छ।




उहाँका अनुसार अन्य पालिकाबाट समेत मासु बेच्न आएका व्यवसायीले बढी मूल्यमा बिक्री गरेर फर्किसकेका छन्। स्थानीय मासु पसलकै कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको उहाँले बताउनुभयो।
यस विषयमा औरही उद्योग वाणिज्य संघका अध्यक्ष संजय कुमार मण्डलले संघले प्रतिकिलो रु ११०० भन्दा बढी मूल्य नलिन व्यवसायीलाई आग्रह गरेको जानकारी दिनुभयो। “सामाजिक सञ्जालमार्फत अनुरोध गरिसकेका छौँ। बजार अनुगमनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। केही व्यवसायीले तोकिएको मूल्य नमान्नु दुःखद् विषय हो,” अध्यक्ष मण्डलले भन्नुभयो।
स्थानीय उपभोक्ताले चाडपर्वका बेला कृत्रिम मूल्यवृद्धि रोक्न प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।





