औरही,महोत्तरी – औरही नगरपालिका–१ औरहीस्थित चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमी विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरूको लागि शुभकामना तथा विदाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
विद्यालयका संस्थापक सदस्य रामबाबु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल रबिन्द्र यादवले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयमा भौतिक संरचना र अन्य सुविधामा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयलाई निकट भविष्यमा नगरपालिकाभित्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य रहेको बताए।




विद्यालयबाट यस वर्ष ४४ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन्। कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले विदाई गरेका थिए। सो अवसरमा उनीहरूलाई अविर र मायाको चिनो प्रदान गरिएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्यसहित सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूको तर्फबाट कक्षा १० का सतिस यादव र प्रतीक्षा साहले आफ्ना अनुभव सुनाए। प्रतीक्षा साहले भनिन्“विद्यालयमा बिताएका ती दिनहरू जीवनभर सम्झना रहिरहने छन्। आजको विदाईले हामीलाई नयाँ चुनौती र अवसरको तयारी गराएको छ। मेहनत र लगनशीलतासँग भविष्यमा अघि बढ्नेछौँ।कार्यक्रमको संचालन कक्षा ९ का श्रुती यादव र राधिका यादवले गरेका थिए।

विद्यालयका संस्थापक सदस्य तथा शिक्षक नारायण गौतम, सुनिल चौधरी, धिरज झा, सबिर साफी र शिक्षिका सिता गौतमले सानैदेखि पढाएका विद्यार्थीहरूलाई विदाई गर्दा भावनात्मक पीडा व्यक्त गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे।
प्रमुख अतिथि श्यामसुन्दर यादवले भने,“एसईई जीवनको महत्वपूर्ण पड़ाव हो, तर केवल सुरुवात मात्र हो। दृढ संकल्प, मेहनत र सकारात्मक सोचले विद्यार्थीहरू आफ्नो लक्ष्य हासिल गर्न सक्षम हुनेछन्।

साथै,संस्थापक अध्यक्ष कृष्णप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै भने,आजको विदाई अन्त्य होइन,नयाँ यात्राको सुरुवात हो।

उच्च लक्ष्य निर्धारण गरेर त्यसलाई हासिल गर्न दृढ संकल्पका साथ अघि बढ्नुपर्छ। विद्यालय सधैं विद्यार्थीहरूको साथमा रहनेछ।कार्यक्रम विद्यालयका अन्य शिक्षक तथा संस्थापक सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

भिडियो-





