बर्दिबास । महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा उत्साहजनक रूपमा ८७ प्रतिशतभन्दा बढी मतदान भएको छ।
मंगलबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ४ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।



कुल १ हजार ६ सय २६ मतदाता रहेको यस निर्वाचनमा १ हजार ४ सय १६ जनाले मतदान गरेका छन्। यसअनुसार ८७.०८ प्रतिशत मत खसेको हो, जुन संघको इतिहास मै उल्लेखनीय सहभागिता मानिएको छ। यद्यपि २ सय १० जना अर्थात् १२.०२ प्रतिशत मतदाताले भने मतदान प्रक्रियामा भाग लिएनन्।

निर्वाचन आयोगका सदस्य रामकुमार कार्कीका अनुसार मतदान प्रक्रिया व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न भएको छ। कार्कीले मतदान केन्द्रमा कुनै अप्रिय घटना नभएको र सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण ढंगले अघि बढेको जानकारी दिनुभयो।
अध्यक्ष, उपाध्यक्षसहित ८ पदाधिकारी र ११ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि दीपकबहादुर कार्की र उत्तमकुमार श्रेष्ठ प्यानल बीच कडा प्रतिस्पर्धा देखिएको छ । निर्वाचनमा कार्की नेतृत्वको प्यानल ‘डमरु’ चुनाव चिन्हसहित मैदानमा उत्रिएको छ भने श्रेष्ठ नेतृत्वको प्यानल ‘कलश’ चुनाव चिन्ह सहित प्रतिस्पर्धामा रहेको छ । दुबै प्यानल बीच कडा प्रतिष्पर्धा हुने भएको हुँदा व्यापारी समुदायमा चुनावप्रति विशेष चासो र उत्साह देखिएको छ ।
प्रमुख निर्वाचन आयुक्त विष्णु कार्कीका अनुसार मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी पूरा भइसकेको छ। उहाँले आज राति देखि मतगणना सुरु गरिने जानकारी दिनुभयो। उहाँले मतगणना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण तयारी गरिएको बताउनुभयो ।
चुनावको अन्तिम परिणामले आगामी कार्यकालका लागि संघको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लगाउनेछ। व्यवसायीहरूको हकहित, बजार व्यवस्थापन तथा स्थानीय आर्थिक गतिविधिमा संघको भूमिका महत्वपूर्ण रहने भएकाले यस निर्वाचनलाई व्यापारी समुदायले विशेष महत्वका साथ हेरेका छन्।




