महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा यस वर्ष पनि परम्परागत राजा सहलेसको मेलाको आयोजना गरिएको छ। वैशाख १ गतेदेखि २ गतेसम्म सञ्चालन हुने उक्त मेला धार्मिक तथा सांस्कृतिक दृष्टिले स्थानीयस्तरमा विशेष महत्व बोकेको छ। दलित समुदायअन्तर्गत पर्ने पासमान (दुसाध) जातिका कुल देवता मानिने राजा सहलेसप्रति श्रद्धा प्रकट गर्न आयोजना गरिने यस मेलामा स्थानीय तथा छिमेकी पालिकाबाट उल्लेखनीय संख्यामा भक्तजनको सहभागिता रहने गरेको छ।

ऐतिहासिक तथा लोककथाअनुसार राजा सहलेसलाई न्यायप्रिय, साहसी तथा जनमुखी लोकनायकका रूपमा लिइन्छ। पकडिया गढका राजा कुहलेश्वरको दरबारमा सामान्य चौकीदारका रूपमा कार्यरत रहेका सहलेसले आफ्नो कार्यकुशलता, सुझबुझ र जनसम्पर्क क्षमताका आधारमा पछि राजाबाटै ‘राजा’को पदवी प्राप्त गरेको विश्वास गरिन्छ। उनी गरिब, दुःखी तथा उत्पीडित समुदायका संरक्षकका रूपमा समेत परिचित छन्। यसैगरी लोकगाथामा कुहलेश्वरका चार छोरीहरू रेशमा, कुसमा, दोना र हीरा तन्त्रविद्यामा पारंगत रहेको उल्लेख पाइन्छ। तीमध्ये कुसमा सहलेसप्रति आकर्षित रहेको जनविश्वास भए पनि सहलेसको वैवाहिक अवस्थाका कारण उनीहरूको प्रेम सम्बन्ध विवाहमा परिणत हुन नसकेको बताइन्छ।




सोही कथासँग जोडेर कुसमाको सहलेसप्रतिको प्रतीक्षा र सुनाखरी फूल फुल्ने विश्वासलाई सांस्कृतिक प्रतीकका रूपमा लिइन्छ। राजा सहलेससँग सम्बन्धित सलहेस फुलबारी, महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ तथा मानिक दहजस्ता स्थलहरूमा प्रत्येक वर्ष परम्परागत रूपमा मेला लाग्दै आएको छ। यस वर्षको मेलामा मिथिलाञ्चल तथा तराई–मधेशको लोकगाथासँग सम्बन्धित लोपोन्मुख मानिँदै आएको राजा सहलेसको नाच विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो। नाच हेर्न वृद्ध, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। स्थानीयले उक्त प्रस्तुतिलाई सांस्कृतिक पुनर्जागरणको संकेतका रूपमा लिएका छन्। सोही क्रममा स्थानीय सुरेश महतोले सहलेस नाच पुनः जीवन्त बन्दै गएको अनुभूति भएको बताएका छन्।

यसैगरी गौशाला नगरपालिका–१० का स्थानीय मनिक लाल महतोले मेला लामो समयदेखि परम्परागत रूपमा हुँदै आएको भए पनि पर्याप्त प्रचार–प्रसारको अभावमा स्थानीय तथा छिमेकी पालिकाभन्दा बाहिरका दर्शक आकर्षित हुन नसकेको बताए।गौशाला नगरपालिका–११ का स्थानीय राम नाथ महतोले मेला सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक भएको उल्लेख गरे। मेलाको व्यवस्थापन स्थानीय पासमान समुदायले चन्दा संकलनमार्फत गर्दै आएको छ।

मेला व्यवस्थापन समितिका अध्यक्ष बिल्टु पासमानका अनुसार मेलामा करिब २ देखि ३ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। समितिमा ब्रहम देव पासमान, महेश पासमान र रोहित पासमान सदस्य रहेका छन्। आयोजकका अनुसार मेलामा धार्मिक अनुष्ठानका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको छ।













