दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासस्रोतका अनुसार, सहायक विदेशमन्त्री कपुर वैशाख ९ गते फर्कने कार्यक्रम छ ।



नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

अमेरिकी सहायक विदेशमन्त्रीले मंगलबार बिहान साढे नौ बजे परराष्ट्रमन्त्री खनाल र बिहान साढे १० बजे अर्थमन्त्री वाग्लेसँग सम्बन्धित मन्त्रालयमा भेटवार्ता गर्नेछन्। भेटवार्तामा एमसीसीको कार्यान्वयनलगायत नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।
नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्रीले पाटन दरबार स्क्वायरको पनि अवलोकन गर्ने कार्यक्रम छ।






