धनवीर महतो–जलेश्वर (महोत्तरी) सदरमुकाम जलेश्वरभन्दा ५ सय मिटरकै दुरीमा तारले घेराबेरा गरेको अवस्था फराकिलो गौचरणजस्तो जमिन अलपत्र अवस्थामा रहेको पाईन्छ । छेउमै रातु नदी अनि बर्दिवास जलेश्वर सडकसँगै टाँसिएको यो जमिन वेवारिसे भने पक्कै होईन् । यो जग्गामा बहुप्रतिक्षित अर्न्तराष्ट्रियस्तरको कलेज निर्माणका लागि जलेश्वरवासीले बर्षौ पहिले उपलब्ध गराएका हुन् ।
५० को दशकमै मणिपाल ईन्जिनियरिङ कलेज स्थापन हुने चर्चाले हर्षित भएका स्थानियहरु अहिले पछुतो मानिरहेका छन् । सस्तो दररेटमा भविष्य कोर्ने संरचना निर्माण हुने भएपछि उनीहरु हर्षित भएका थिए । तर लामो समय वित्दा समेत कलेजले पुर्णता नपाएपछि स्थानियहरु ती जग्गा विक्री गरि पछुतो मानिरहेको छ ।



शैक्षणिक संरचना निर्माणकै लागि कलेजले माग गरे वमोजिमको जग्गा आफुहरुले सहजै रुपमा उपलब्ध गराएको स्थानिय ६५ बर्षिय दानीकान्त पाठकले सुनाए । पाठकले भने, ‘हाल अर्बौ रकम बराबरको मुल्यांकन रहेको ती जग्गा अहिले अलपत्र बनेको छ । बहुमुल्य जग्गा न्युनरेटमा विक्री गरि पछुतो लागेको छ । न त त्यहाँ कुनै संरचना बन्यो न त किसानले नै उब्जाउ गर्न नै पाए ।

सुनाजस्तो ती जग्गामा अहिले भुमाफिया भने नजर पर्न थालेको छ । ती भुमाफियाहरु कतिबेला कब्जामा लिने हो ठेगान छैन् ।’स्थानियलाई रोजगारी अनि बालबच्चालाई शिक्षित बनाउने भविष्यको सपनाले त आफुहरुको मन लोभ्याएको ४५ बर्षिय शिवचन्दै चौधरीले बताए । ३० विग्हा जग्गा मणिपाललाई उपलब्ध गराएको जानकारी दिदै उनले थपे, ‘थोरै समयमा नै संरचनाको निर्माण गरि अन्तराष्ट्रियस्तरको प्राविधीक शिक्षा दिईने भनेपछि जलेश्वरवासी हुरुक्कै भएका थिए ।
३ दशकमा अनेकौ परिवर्तन भएतापनि जलेश्वरको मुटुमा रहेको ती मणिपालको जग्गा अहिले अलपत्र छ । न त सरकारको ध्यान गएको छ । न त यसलाई संरक्षणका लागि नै कसैले पहलकदमी उठाएको छ । जहिले नि चुनावी नाराको रुपमा ती जग्गा नेताहरुको घोषणापत्रमा भने उल्लेख भएको पाईन्छ ।’

२ बर्ष अगाडि त्यहाँको जनताहरुले आवाज उठाएपछि मणिपाल कॉलेजले केही भौतिक संरचनाको काम अगाडि बढाएको श्याम यादवले जानकारी दिए । उनले भने, ‘यस विषयमा तत्कालिन समयमा संसदमा आवाज उठेपछि जलेश्वरवासीमा पुनः आशा पलाएको थियो । तर त्यो त दिवा स्वप्न मात्रै रहेछ । ती जग्गामा अहिले भु माफियाको गिद्धेनजर परेको छ । सरोकारवाला निकायले समयमै ध्यान नदिने हो भने मणिपालको अस्तित्व नै यहाँबाट समाप्त हुने डर लाग्न थालेको छ ।’
मणिपाल कलेजका प्रमुख इञ्जिनीयर सञ्जयकुमार गुप्ताले भारतको बिहार र उत्तर प्रदेशसँग सिमाना जोडिएको यस क्षेत्रमा भारतीय विद्यार्थी पनि जलेश्वरमा इञ्जिनियरिङ शिक्षाका लागि आउने ठूलो सम्भावना रहेको बताए । उनले कलेज निर्माण तथा सञ्चालनका लागि जलेश्वर नगरपालिका तथा स्थानीयवासीको साथ र सहयोग भए निर्माण कार्य सुरु गरेर चाँडै सम्पन्न गरी/गराई इञ्जिनियरिङ तथा अन्य अन्तर्राष्ट्रियस्तरको प्राविधिक शिक्षाको शुभारम्भ गरिसक्ने उल्लेख गरे ।

महोत्तरीका बरिष्ठ पत्रकार दशरथ भण्डारीले यहाँ तत्कालिन आदर्श गाँउ पञ्चायत रहेकै समयमा २०३९ सालको शुरुवातदेखि नै जलेश्वरमा ठुलो इन्जिनियरिङ कलेज खुल्ने चर्चा छाएको थियो । जग्गाको खोजी कार्य भएपछि जलेश्वर लगायत छेउमै रहेको बजराही, रतबाराका किसानहरुले जग्गा दिनका लागि सहमत भएको भण्डारीले बताए । उनले भने, ‘३० वर्ष अगाडि यहाँ जुन कलेज बन्ने चर्चा थियो । त्यो अहिले बाँझो जमिनको रुपमा परिणत भएको छ । कलेज व्यवस्थापनपक्ष सम्पर्कविहीन बनेपछि उक्त योजना अलपत्र परेको थियो । अहिले आएर फेरि कलेज बन्छ भनेर विश्वास गर्न कठिन छ तर जलेश्वरवासीको आशा भने अझ मरेको छैन् ।’२०५४ सालमा ३० बिघा जग्गा कलेज स्थापनाका लागि भनेर खरिद गरिएको थियो । जलेश्वरको भविष्य राम्रो होस् भनेर सय भन्दा बढी किसानले प्रति कट्ठा २ क्विन्टलसम्म धान फल्ने खेत कट्ठाको मात्र १० हजार रुपियाँमा बेचेको स्थानिय सिताराम झाले बताए । झाले भने, ‘जग्गा बेच्नेको नामावली कलेजभित्र राखिने र जग्गा धनीहरूको परिवारका सदस्यलाई जागिर दिने आश्वासन समेत कलेज व्यवस्थापन पक्षबाट पाएको थियो ।
जलेश्वर नगरपालिका कार्यालय स्रोतका अनुसार, मणिपाल एजुकेसन ग्रुपले २०५४ वैशाख ९ गते कलेज भवन बनाउन नक्शा पाससमेत गराएको थियो। त्यसको ठेक्का चितवन कोई प्रालिलाई दिइएको थियो । त्यतिबेला भवन निर्माणको तयारी चलिरहँदा रातु नदीमा बाढी आएपछि रोकिएको काम त्यसपछि कहिल्यै अघि बढेन । रातु नदीमा बाढी आएपछि कलेज निर्माण रोकेको भारतीय कम्पनी फर्केरै कहिल्यै आएन । राजनीतिक दलले पनि इन्जिनियरिङ कलेजलाई ३० वर्षदेखि चुनावी मुद्दा मात्र बनाइरहे ।
महोत्तरीको सदरमुुकाम जलेश्वर बजारदेखि एक किलोमिटरको दूरीमा बर्दिवास जलेश्वर सडकखण्डको छेउमै सो जग्गा गौचरणमा परिर्वतन भएको छ । उनीहरु बालेन नेतृत्वको सरकारसँग कलेज स्थापनाका लागि पहलकदमी चाल्नुपर्ने जोडदार माग गरेका छन् ।





