अजय शाह,गौशाला(महोत्तरी) –
महोत्तरीको गौशालालगायतका क्षेत्रमा व्यवस्थित बधशालाको अभावका कारण स्थानीय बासिन्दा प्रदूषित मासु उपभोग गर्न बाध्य भएका छन्।




अव्यवस्थित रूपमा सञ्चालन भइरहेका पशु बधशालाका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिँदा स्थानीय बासिन्दा विभिन्न रोगको जोखिममा परेका छन्।

प्रदूषणपीडित गौशालाकी स्थानीय अनिता थापाका अनुसार बधशालाको अनियमितताविरुद्ध बोल्दा पनि मासु व्यवसायीले बेवास्ता गर्ने गरेका छन् भने नगरपालिकाले समेत प्रभावकारी ध्यान नदिएको गुनासो छ।
वर्षौँदेखि अव्यवस्थित मासु उपभोग गर्न बाध्य गौशालावासी दुर्गन्ध र फोहोरबाट समेत हैरान भएका छन्।
स्वास्थ्य मापदण्डविपरीत सञ्चालनमा रहेका मासु पसलहरूको नियमित अनुगमन नहुँदा उपभोक्ता मारमा परेको स्थानीयको भनाइ छ। सडकपेटीमै काटमार गरी खुला रूपमा सञ्चालन गरिएका पसलका कारण बजारसमेत फोहोर र दुर्गन्धित बनेको छ।

सरकारले स्वस्थ मासु बिक्री–वितरणका लागि मापदण्ड तोकेको भए पनि गौशाला, औरही, रामगोपालपुरलगायतका अधिकांश क्षेत्रमा मासु पसलहरू मापदण्डविपरीत सञ्चालनमा छन्।
पशु बधशाला र मासु जाँचसम्बन्धी नियमावली अनुसार महोत्तरीमा व्यवस्थित बधशाला तथा मापदण्डअनुसारका मासु पसल अत्यन्त न्यून छन्। अधिकांश पसलमा सरसफाइको अभावका कारण गुणस्तरहीन मासु बिक्री भइरहेको छ।

मासु व्यवसायीहरू पनि नगरपालिकाबाट नियमित अनुगमन नहुँदा अव्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न बाध्य भएको बताउँछन्। नियमनकारी निकायको कमजोरीका कारण समस्या झनै बढ्दै गएको उनीहरूको भनाइ छ।
औरही नगरपालिका–१ का मासु व्यवसायी जाबिर लहेरीले बजारमा मासु पसल सञ्चालनसम्बन्धी मापदण्डबारे आफूलाई स्पष्ट जानकारी नभएको बताउनुभयो। कहिलेकाहीँ अनुगमन भए पनि ठोस निर्देशन नपाएको उहाँको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मधेश प्रदेशका अनुसार प्रदेशभर वार्षिक करिब ४७ हजार ३५९ मेट्रिक टन मासु उत्पादन र उपभोग हुने गरेको छ।
वरिष्ठ पशु चिकित्सक डा. संजीव कुमार ठाकुरका अनुसार सरसफाइ, फोहोर व्यवस्थापन, बधस्थल तथा औजारको उचित प्रयोग नहुँदा उपभोक्ताको स्वास्थ्यमा जोखिम बढिरहेको छ।

उहाँका अनुसार अस्वस्थ मासु सेवनले विभिन्न रोगको जोखिम बढाउने सम्भावना उच्च छ।
स्थानीय सञ्चारकर्मी धर्वेन्द्रकुमार यादवका अनुसार सडकमै जथाभाबी काटमार गरी मासु बिक्री गर्दा पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन गरेको छैन।
गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले मापदण्डअनुसार व्यवसाय सञ्चालन गराउनु सबैको दायित्व भएको भन्दै अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो।
सरकारले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ बनाए पनि कार्यान्वयन कमजोर हुँदा कागजमै सीमित भएको छ। नियमन कमजोर हुँदा व्यवसायीहरूले सडक र खुला ठाउँमै मासु बिक्री–वितरण गर्दै आएका छन्।-गोरखापत्र




