महोत्तरी – महोत्तरी जिल्लाको औरही नगरपालिका–२, औरहीस्थित श्री प्रसाद सिंह नमूना माध्यमिक विद्यालय (नैनीगौरी) मा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । औरही नगरपालिका–२ फुलबरियाटोलस्थित उक्त विद्यालयमा स्थानीय समुदायको सक्रियता र सहभागितामा सञ्चालन गरिएको अभियानले विद्यार्थी संख्या वृद्धि गर्नुका साथै गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

अभियानअन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै अभिभावकसँग प्रत्यक्ष संवाद गरी विद्यालयको शैक्षिक अवस्था, पूर्वाधार तथा सुधारका प्रयासबारे जानकारी गराउने काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबिनकुमार यादवले जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अभियानमा सहभागी स्थानीय अगुवा, शिक्षक, अभिभावक तथा युवाहरूले “गहना, जेवर, रूप र श्रृङ्गार—शिक्षा बिना सबै बेकार” भन्ने मूल नारालाई आत्मसात गर्दै सबै बालबालिकालाई विद्यालय शिक्षामा अनिवार्य रूपमा सहभागी गराउने उद्देश्यले अभियान सञ्चालन गरिरहेका छन् ।




विद्यालयका सहायक प्रधानाध्यापक रामबरण राउतका अनुसार शैक्षिक सत्र २०८३ देखि कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिनेछ । उहाँले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न दक्ष शिक्षक व्यवस्था, नियमित अनुगमन तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा जोड दिइएको बताउनुभयो । साथै, प्रविधिमैत्री शिक्षण प्रणाली तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

औरही नगरपालिकाका नगर प्रमुख प्रदिपकुमार खड्काले सामुदायिक विद्यालयको सुदृढीकरण नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन तथा शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले भर्ना अभियानलाई सफल बनाउन अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । विद्यालय व्यवस्थापन समितिका शिक्षक सदस्य रामगोपाल यादवले भर्ना अभियानलाई प्रभावकारी बनाउन शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले विद्यालयमा गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि नियमित कक्षा सञ्चालन, विद्यार्थीमैत्री वातावरण निर्माण तथा अनुशासित सिकाइ प्रक्रियामा विशेष जोड दिइएको उल्लेख गर्नुभयो ।

उहाँले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास क्रमशः बढ्दै गएको जनाउँदै सबै अभिभावकलाई आफ्ना बालबालिकालाई नजिककै विद्यालयमा भर्ना गराई शैक्षिक सुधार अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । स्थानीयवासीले अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । समुदायको सक्रिय सहभागिताले विद्यालयको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।












