महोत्तरी – महोत्तरीको औरही नगरपालिका–२,फुलवरिया गाउँमा सञ्चालन गरिएको विद्यालय भर्ना अभियानका क्रममा शिरीष न्युजकर्मीको क्यामरामा कैद भएको एक दृश्यले ग्रामीण यथार्थलाई मार्मिक रूपमा उजागर गरेको छ।
स्थानीय एक घरको आँगनमा एक बालक भात खाइरहेको देखिन्छ भने अर्काे बालक शिक्षकले भर्ना अभियानबारे गरिरहेको आग्रह ध्यानपूर्वक सुनिरहेको थियो।



उक्त क्रममा शिक्षकले अभिभावकबारे सोधपुछ गर्दा बालकहरूले “अभिभावक काम गर्न गएका छन्” भन्ने जवाफ दिएका थिए। यस संवादले परिवारको आर्थिक बाध्यता र बालबालिकाको शिक्षामा पहुँचबीच रहेको खाडललाई प्रस्ट रूपमा देखाउँछ।
विद्यालय भर्ना अभियान सञ्चालन भइरहे पनि यस्ता समुदायमा अपेक्षित प्रभावकारिता देखिन सकेको छैन। फलस्वरूप, धेरै बालबालिका अझै विद्यालय बाहिरै रहने अवस्था विद्यमान छ।
स्थानीय तहमा गरिबी, जनचेतनाको अभाव तथा प्रभावकारी समन्वयको कमीका कारण समस्या झन् जटिल बन्दै गएको सरोकारवालाहरूको भनाइ छ। यस्तो परिस्थितिमा सम्बन्धित निकायले लक्षित कार्यक्रममार्फत वास्तविक लाभग्राहीसम्म पुग्ने प्रभावकारी पहल गर्नु आवश्यक देखिन्छ।








