महोत्तरी – महोत्तरीको औरही नगरपालिका–२ स्थित मुसहर बस्तीका बालबालिकाको दैनिकी अचेल फेरिएको छ। बिहानीको सूर्योदयसँगै यो बस्तीका स–साना बालबालिका हातमा कापी–कलम र काँधमा झोला भिरेर धुलाम्मे सडकमा विद्यालयतर्फ लम्किरहेका भेटिन्छन्।
विगतमा शिक्षाको पहुँचभन्दा टाढा रहेको यो समुदायमा अचेल विद्यालय जाने बालबालिकाको सङ्ख्या बढ्दो छ। तर, शिक्षाप्रतिको यो उत्साहभित्र आर्थिक अभावको भने गहिरो चोट देखिन्छ। हालै शिरीष न्युजका सञ्चारकर्मीको क्यामरामा कैद भएको एक मार्मिक दृश्यले ग्रामीण नेपालको गरिबी र शिक्षाप्रतिको सङ्घर्षलाई उजागर गरेको छ।




विद्यालय जाने अधिकांश बालबालिकाको खुट्टामा चप्पल छैन। पुरानो र मैला कपडामा ठाँटिएका उनीहरू तातो धूलोको प्रवाह नगरी रमाइलो गफ गर्दै विद्यालय पुग्छन्। स्थानीय अभिभावकहरूका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरीलाई सामान्य पोसाक र चप्पलसमेत किनिदिन सक्ने अवस्था छैन।
“छोराछोरी विद्यालय जान पाउँदा खुसी लाग्छ, तर उनीहरूको नाङ्गो गोडा देख्दा मन रुन्छ,” एक स्थानीय अभिभावकले भन्नुभयो। उहाँका अनुसार बिहान–बेलुकाको छाक टार्न मुस्किल हुने परिवारका लागि शैक्षिक सामग्री र पोसाक जुटाउनु ठूलो चुनौती बनेको छ।
पत्रकारिताको धर्म नै ओझेलमा परेका मुद्दालाई मूलधारमा ल्याउनु रहेको सन्दर्भमा सञ्चारमाध्यमले सार्वजनिक गरेको यो दृश्यले समाजमा बहुआयामिक प्रभाव पार्ने देखिएको छ। यसले पहिलो चरणमा स्थानीय सरकारलाई आफ्नो बजेट र योजनाहरू भौतिक पूर्वाधारसँगै मानवीय विकास र लक्षित समुदायको हितमा केन्द्रित गर्न नीतिगत दबाब सिर्जना गरेको छ।
त्यस्तै, यस दृश्यले सामाजिक उत्तरदायित्व बोध गराउँदै विभिन्न सङ्घसंस्था र दाताहरूलाई मुसहर बस्तीका बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्न ध्यानाकर्षण गराएको छ। सञ्चारमाध्यममा आएका यस्ता समाचारले बालबालिकामा मनोवैज्ञानिक आत्मबल बढाउनुका साथै विद्यालय बीचैमा छाड्ने (ड्रप आउट) दरमा समेत कमी ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य भनी सुनिश्चित गरे पनि औरहीका यी बालबालिकाका लागि एक जोर चप्पल र सफा पोसाक अझै सहज उपलब्ध हुन सकेको छैन। अभावका बीच पनि विद्यालय जाँदै गरेका यी बालबालिकाको उत्साहलाई दीगो बनाउन राज्य र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य देखिएको छ।








