बर्दिवास । सरकारले सरकारी, ऐलानी लगायतको जग्गाबाट बस्ती हटाउन लागेको विरोधमा महोत्तरीको बर्दिबासमा सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासिहरुले राष्ट्रिय भुमिअधिकार मंच नेपाल महोत्तरीको अगुवाइमा आज विशाल जुलुस प्रदर्शन गरेको छ।
भूमिहीन तथा सुकुमबासी परिवारहरूको उल्लेख्य सहभागिता रहेको जुलुसमा सुकुमबासीलाई उठिवास हैन आवासको अधिकार र उचित बन्दोस्त हुनु पर्ने माग सहित प्रदर्शन गरेका हुन् । सहभागीहरूले ‘भूमि हाम्रो अधिकार हो’, ‘डोजर आतंक बन्द गर’, ‘सुकुमबासीलाई आवास सुनिश्चित गर’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए।



प्रदर्शनका सहभागीले “उठीवास बन्द गर”, “भूमि र आवासको अधिकार सुनिश्चित गर” तथा “जीवन र जीविकाको अधिकार सुनिश्चित गर” लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै बर्दिवासको भप्सी खोलाबाट सुरु गरी मुख्य बजार परिक्रमा गर्दै सिन्धुली रोडको चोकमा पुगेर कोणसभा गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव फौद सिंह स्यांगवाले सुकुमबासी बस्तीमा डोजर नचलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि बसोबास गर्दैआएका सुकुम्बासीलाई व्यवस्थापन गरी बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । उहाँले भूमिहीन तथा सुकुमबासी परिवार त्रसित बनेर बाँच्नु परेको बताउँदै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई जबरजस्ती हटाउने कार्य मानवअधिकार विपरीत भएको उल्लेख गर्नुभयो। ‘पछिल्लो समय सरकारले चलाएको डोजर आतंकका कारण महोत्तरीका वास्तविक भूमिहीन, सुकुमबासी त्रसित बन्नु परेको छ,’ उहाँले भन्नुभयो, ‘यो राज्य हाम्रो पनि हो,राज्यले हाम्रो भूमि अधिकार जबरजस्ती हनन गर्न पाउँदैन।’
राष्ट्रिय भूमि अधिकार मञ्च महोत्तरीका अध्यक्ष नेत्रबहादुर कार्की (बलराम)ले सरकारले सुकुमबासी व्यवस्थापनका लागि लिएको नीति सकारात्मक भए पनि व्यवस्थापनभन्दा पहिले उठीवास गराउने कार्य उचित नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुकुमबासीलाई हटाउनुभन्दा पहिले बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारलाई हाम्रो आग्रह छ ।”
कोण सभामा अन्य वक्ताहरुले भूमि र आवासको अधिकारको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै राज्यले भूमिहीन समुदायको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठोस नीति ल्याउनुपर्ने माग राखेका थिए।





