जनकपुरधाम – मधेश प्रदेश सरकारले राष्ट्रिय सरसफाई सप्ताह, २०८३ शुरु गरेको छ । आज विहान ७ः०० बजे देखि जनकपुरधाम स्थित प्रदेश मुख्यालय मधेश भवन परिषर भित्र वन तथा वातावरण मन्त्रालयको अगुवाईमा बृहत् सरसफाई कार्यक्रम शुरु गरिएको छ ।

मधेश भवनको कम्पाउण्ड भित्र फालिएका पानीका वोतल/गिलास/कचौराहरु, प्लास्टीकजन्य अवशेषहरु, मिचहा प्रजातीका झारहरु, निर्माणाधिन संरचनाहरुमा प्रयोग गरिने सिमेन्टका बोराहरु, अनावश्यक कागजहरु गरी संकलन गरिएको करिव ३ ट्रयाक्टर (टेलर) फोहर वस्तुहरु कम्पाउण्ड वाहिरको ड्याम्पिगँ साईटमा लगि विसर्जन गरिएको छ ।




प्रदेश वन तथा वातावरण सचिव जिवनाथ पौडेलको अगुवाईमा संचालित आजको सरसफाई कार्यक्रममा मा. मुख्यमन्त्रि, मा. मन्त्रिहरु, प्रमुख सचिव, विषयगत मन्त्रालयका सचिवहरु, मन्त्रालयका कर्मचारीहरु, डिभिजन वन कार्यालय, धनुषाका कर्मचारीहरु, मधेश भवन भित्र रहेका सुरक्षाकर्मीहरु लगायतकाको उपस्थिति रहेको उक्त सरसफाई कार्यक्रम विहान ७ः०० बजे देखि ८ः३० बजे सम्म संचालन भएको थियो ।

सरसफाई सप्ताह २०८३ वैशाख २९ गते देखी जेष्ठ १ गते सम्म संचालन हुने बताईएको छ । सरकारी कार्यालयको नियमित सरसफाई र फोहर व्यवस्थापनलाई संस्थागत बनाउने, सेवाग्राहीले सफा, आकर्षक र सम्मानजनक वातावरणमा सेवा पाउने सुनिश्चितता गर्ने तथा फोहर व्यवस्थापन, सौन्दर्यीकरण र सरसफाईको स्थायी अभियान वा प्रणाली विकास गर्न राष्ट्रिय सरसफाई सप्ताह, २०८३ शुरु गरिएको जानकारी वन तथा वातावरण मन्त्रालयका सचिव जिव नाथ पौडेलले दिनु भयो ।





