महोत्तरी – महोत्तरीस्थित कान्तिबजार तरकारी बजारमा कृषि विषय अध्ययनरत विद्यार्थीहरूले कृषकहरूलाई लक्षित गर्दै “मोहनी पासो (Lure Trap) ले किरा व्यवस्थापनमा पुर्याउने फाइदा” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा विद्यार्थीद्वारा मोहनी पासोको प्रयोग, यसको महत्व तथा वातावरणमैत्री तरिकाबाट बालीमा लाग्ने हानिकारक किराको नियन्त्रण गर्ने उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।




साथै, यस प्रविधिको प्रयोगबाट रासायनिक विषादीको प्रयोग घट्ने, उत्पादन लागत कम हुने, उपयोगी किराहरू सुरक्षित रहने तथा बालीको उत्पादन र गुणस्तरमा सुधार आउने विषयमा कृषकलाई जानकारी गराइएको थियो ।विद्यार्थीहरूले टमाटर, करेला, बन्दागोभी, मकै लगायतका तरकारी बालीमा मोहनी पासोको प्रभावकारी प्रयोगबारे व्यवहारिक प्रदर्शन समेत गरेका थिए ।

कार्यक्रमप्रति कृषकहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै सुरक्षित र आधुनिक कृषि प्रविधिबारे उपयोगी जानकारी प्राप्त भएको बताएका छन् । विद्यार्थीहरूले आगामी दिनमा पनि कृषकलाई आधुनिक तथा वातावरणमैत्री कृषि प्रविधिप्रति सचेत गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।








