महोत्तरी – महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाडमा एक नवविवाहिताको शंकास्पद मृत्यु भएको छ । माइती पक्षले दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएका छन् ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बसन्तपुर निवासी रामज्ञान मण्डलकी छोरी रञ्जिता मण्डलको विवाह २०८२ फागुन १४ गते महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाड निवासी विजय मण्डलका छोरा रमेश मण्डलसँग भएको थियो । विवाह भएको ८३ दिन नपुग्दै रञ्जिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।



मंगलबार साँझ रञ्जिताले पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै उनका श्रीमान्ले उपचारका लागि रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पताल पुर्याएका थिए । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।मृतकका माइती पक्षले भने रञ्जिताले आत्महत्या नगरेको र उनको हत्या गरिएको दाबी गरेका छन् । मृतककी आमा कौशिल्या देवी मण्डलले केही दिनअघि छोरीसँग फोनमा कुरा हुँदा ससुराली पक्षले माइतीबाट भैँसी दाइजोमा ल्याउन दबाब दिएको बताएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विवाहका क्रममा नगद १० लाख रुपैयाँ, सुन तथा अन्य सामग्री दिइसकिएको अवस्थामा थप दाइजो दिन नसकिने बताएपछि छोरीमाथि कुटपिट हुँदै आएको थियो । सोही कारण हत्या गरिएको उहाँको आरोप छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले घटनाका सम्बन्धमा मृतकका श्रीमान्लाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले हत्या वा आत्महत्याबारे पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै यकिन गर्न सकिने बताउनुभयो ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घटनापछि ससुराली पक्षका अन्य सदस्य सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् ।




