जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।



प्रदेशसभा सचिवालयले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमार्फत सरकारको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिने जनाएको छ ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारका आगामी वर्षका प्राथमिकता, विकास योजना, आर्थिक रणनीति तथा विभिन्न क्षेत्रका कार्यक्रम समेटिने छ।
यसअघि बैशाख २२ गते जनमत पार्टीले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार राजनीतिक रूपमा अस्थिर बनेको थियो । त्यसपछि मुख्यमन्त्रीले मधेशवादी दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्दै नयाँ सत्ता समीकरण निर्माण गरेका थिए ।
मुख्यमन्त्रीले मंगलबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि अब सरकार नीति तथा कार्यक्रममार्फत आगामी राजनीतिक र विकासको कार्यदिशा प्रस्तुत गर्ने तयारीमा जुटेको छ ।





