उदयपुर(गाईघाट) । मधेशी समाज उदयपुरको सम्पन्न दशौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले मधेशी बुद्धिजीवी एवं अगुवा रामभक्त यादवलाई सर्वसम्मतीबाट अध्यक्षमा निर्वाचित गरेकोछ ।
गत शनिवार श्री ब्रह्मकुमारी राजयोग संस्था गाईघाटको सभाहलमा सम्पन्न समाजको दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नवनिर्वाचित पदाधिकारीहरुले पूर्णता पाएसँगै एकहप्ता पछि हिजो शनिवार जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सभाहलमा आयोजित कार्यक्रममा पदभार तथा सपथ ग्रहण गरेकाछन् ।



समाजको वरिष्ठ उपाध्यक्षमा बालो प्रसाद भगत, महिला उपाध्यक्षमा प्रतिभा साह, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमश : ओमप्रकाश गुप्ता, सुनिलकुमार महतो र अजयकुमार साह(हलुवाई) सर्वसम्मतीबाट निर्वाचित भएकाछन् । यसैगरि नवनिर्वाचित सदस्यहरुमा क्रमश : अर्जुनकुमार चौधरी, रामसुधीर मिश्र, शिलाकुमारी महतो, रामनाथ साह, आनन्द भगत, दिपककुमार साह र सन्तोष ठाकुर रहेकाछन् ।

निर्वाचन समितिका संयोजक पन्नालाल भगतको अध्यक्षतामा सम्पन्न पदभार तथा सपथ ग्रहण समारोहमा अतिथिहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका महासचिव सुनिल साहले समाजसँग सहकार्य गर्दै विगतमा गरिएका सहयोगहरुलाई अझ बढी प्राथमिकता दिने बताउनुभयो ।
महासचिव साहले अन्य समुदायहरुसँग जिल्लाको समग्र विकासमा संघले गरिरहेको सहकार्य जस्तै यस समाजसँग पनि अगामी दिनमा सहयोग सहकार्य गर्न जिल्ला उद्योग वाणिज्य संघ पछि नहट्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले समाजसँग सम्बद्ध सवैलाई अझ प्रभावकारी कार्यक्रमहरुको आयोजना गरि समुदायको हितमा अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्यकै क्रममा संस्थापक उपाध्यक्ष खेमनारायण यादवले जिल्लामा मधेशी समुदायको हकहितका लागि सरोकारवालाहरुसँगको सहकार्यलाई बढावा दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नवनिर्वाचित पदाधिकारीहरुले अहिलेको बदलिदो परिवेशमा आफ्नो कृयाशिलता बढाई नयाँ योजना र कार्यक्रमका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
समाजका संस्थापक अध्यक्ष सत्यनारायण झाले जिल्लामा मधेशी समुदायले विगत पचास देखि साठी बर्षमा विभिन्न समस्याहरु झेल्दै यो अवस्था सम्म ल्याएर सम्पूर्ण मधेशीहरुलाई एकताबद्ध बनाउन सफल भएको बताउनुभयो । उहाँले अब यो समुदायको सामाजिक, राजनितिक र साँस्कृतिक विकासका लागि अझ सशक्त भएर अगाडी बढ्न शुभकामना दिनुभयो ।
निवर्तमान अध्यक्ष गजेन्द्र कुमार भगतले शुभकामना दिनुहुँदै समाज सम्बद्ध बुद्धिजीवीहरुले आ–आफ्नो स्थानबाट नवनिर्वाचित पदाधिकारीहरुलाई सक्दो सहयोग र सहकार्य गर्न जोड दिनुभयो । उहाँले यस समाजले समग्र मधेशी समुदायको सवाललाई उठान गर्न संघर्ष गरिरहदा जिल्लामा रहेका अन्य समुदायहरुसँग समेत सहकार्य र समन्वयमा जोड दिएको कुरालाई निरन्तरता दिन सुझाव दिनुभयो ।
नवनिर्वाचित पदाधिकारीहरुको तर्फबाट अध्यक्ष रामभक्त यादवले समाजका अगुवाहरु, युवाहरुको सल्लाह र सुझाव अनुसार अगामी कार्यदीशा र योजना तयार गरि प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेशी युवा समाज, मधेशी महिला समाज र जातिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र समाजका आजीवन सदस्य, संस्थागत सदस्य, संगठित सदस्य र सधारण सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक पन्नालाला भगत र सदस्यहरु अजयकुमार साह र रेखाकुमारी साहले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण एवं सपथग्रहण गराउनुभयो ।




