मधेस प्रदेशमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन आन्तरिक विवादका कारण प्रभावित बनेको छ। नगर अधिवेशनदेखि नै देखिएको विवाद जिल्ला हुँदै प्रदेश अधिवेशनसम्म पुगेपछि अधिवेशन प्रक्रिया अनिश्चित बनेको पार्टीका नेताहरूले बताएका छन्।
नेतृत्वमा पुग्ने आकांक्षीहरूको संख्या बढेसँगै ‘नयाँ र पुराना’ कार्यकर्ताबीच मतभेद देखिएको र त्यसले अधिवेशनको वातावरण प्रभावित भएको नेताहरूको भनाइ छ।



रास्वपा धनुषा जिल्ला कार्यालयमा जेठ २२ गते तालाबन्दी भएपछि रोकिएको जिल्ला अधिवेशन मंगलबार जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो। तर, अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति लक्ष्मेश्वर यादवलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले निलम्बन गरेपछि विवाद थप चर्किएको हो।
अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले जारी गर्नुभएको पत्रमा पार्टी विधान, आचारसंहिता, निर्वाचन कार्यविधि तथा पदीय जिम्मेवारीअनुसार काम गर्न नसकेको भन्दै यादवलाई धनुषा कार्यसमितिको सभापतिबाट पदमुक्त गरिएको उल्लेख छ। यादवमाथि थप अनुसन्धानका लागि प्रमाण संकलन गर्नुपर्ने पनि पत्रमा जनाइएको छ।
धनुषा सभापतिका लागि यादवसहित अम्बुप्रसाद साह र सरोजकुमार पूर्वे आकांक्षी रहनुभएको थियो। अधिवेशन सुरु भएलगत्तै ठूलो संख्यामा नेता–कार्यकर्ता मञ्चमा पुगेपछि कार्यक्रम प्रभावित भएको थियो।
मधेस प्रदेशका पर्साबाहेक अन्य सात जिल्लामा जिल्ला नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि प्रदेश अधिवेशनसमेत रोकिएको छ। पर्सामा भने तनावबीच हरि पन्त सभापतिमा निर्वाचित हुनुभएको छ।
रास्वपाका मधेस प्रदेशका विभिन्न जिल्लाका नेताहरूका अनुसार अधिवेशन विवादित बन्नुका प्रमुख कारणमा नयाँ र पुराना कार्यकर्ताबीचको मतभेद, नेतृत्वमा दोहोरिने आकांक्षा तथा प्रदेश नेतृत्वको हस्तक्षेप रहेको बताइएको छ।
धनुषा सभापतिका प्रत्याशी अम्बुप्रसाद साहले पार्टी संगठन विस्तारसँगै नयाँ नेता–कार्यकर्ताको आगमन बढे पनि व्यवस्थापनमा चुनौती देखिएको बताउनुभयो। उहाँका अनुसार पार्टीभित्र नेतृत्व विकासको प्रक्रिया व्यवस्थित हुन नसक्दा समस्या देखिएको हो।
रास्वपा सर्लाहीका सभापति सरोज बनियाँले प्रदेश नेतृत्वको भूमिकाका कारण सर्लाहीको अधिवेशन विवादित बनेको आरोप लगाउनुभएको छ। उहाँले सहमतिबाट अघि बढ्नुपर्ने अवस्थामा विवाद बढेको बताउनुभयो।
मधेस प्रदेशका आठवटै जिल्लाका सभापतिहरू दोहोरिने इच्छामा देखिएका छन्। पर्सामा वर्तमान सभापति हरि पन्त पुनः निर्वाचित हुनुभएको छ भने सर्लाही, महोत्तरी र धनुषामा पनि पुरानै नेतृत्व दोहोरिने आकांक्षासहित नेताहरू प्रतिस्पर्धामा रहेका छन्।
रास्वपा मधेस प्रदेश सभापति तपेश्वर यादवमाथि अधिवेशन प्रभावित हुने गरी पक्षपातपूर्ण भूमिका खेलेको आरोप लगाउँदै अधिकांश जिल्ला अध्यक्षहरूले केन्द्रीय समितिलाई पत्र पठाएको बताइएको छ। तर, यस विषयमा प्रतिक्रिया लिन खोज्दा यादवसँग सम्पर्क हुन नसकेन ।
मधेस प्रदेश सभापतिका लागि तपेश्वर यादव र शिव यादवबीच प्रतिस्पर्धा देखिएको छ। दुवै नेता सिरहाका भएकाले प्रदेश नेतृत्वको प्रतिस्पर्धाको प्रभाव सिरहा जिल्लाको अधिवेशनमा समेत परेको बताइएको छ।





