महोत्तरीको बर्दिवासस्थित ग्लोबल एकेडेमीले कक्षा–१२ को परीक्षाफलमा आफ्नी छात्रा जेसिका भण्डारी साधारण धारतर्फ देशभरकै बोर्ड टपर भएको दाबी गरेको छ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार भण्डारीले ३.९६ जीपीए प्राप्त गरेकी छन्। सोही आधारमा उनी देशभरकै उत्कृष्ट स्थानमा रहेको विद्यालयको दाबी छ। यद्यपि, राष्ट्रिय परीक्षा बोर्डले भने यस्तो दाबीलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन।



बोर्डका प्रतिनिधि सुभम यादवका अनुसार बोर्डले टपर घोषणा गर्ने वा त्यस्तो सूची सार्वजनिक गर्ने परम्परा छैन। उनका अनुसार विद्यालयहरूले आफ्नै आधारमा दाबी गर्न सक्ने भए पनि बोर्डबाट त्यसको आधिकारिक प्रमाणीकरण हुँदैन।
ग्लोबल एकेडेमीका प्रधानाध्यापक विश्वराज वाग्लेले विद्यालयले उपलब्ध तथ्यांककै आधारमा उक्त दाबी गरेको बताए। उनका अनुसार गत वर्ष ३.९६ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीका रूपमा चर्चा गरिएको थियो।
यस वर्ष पनि जेसिका भण्डारीले सोही जीपीए प्राप्त गरेकाले उनलाई देशकै पहिलो स्थानमा रहेको निष्कर्ष निकालिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष केही विद्यार्थीले ३.९७ जीपीएसम्म प्राप्त गरेका छन्। तर ती विद्यार्थी प्राविधिक धारका रहेको र साधारण धारमा ३.९६ जीपीए नै सबैभन्दा उच्च अंक भएको विद्यालयको दाबी छ।
विद्यालयका संस्थापक अर्जुनमणि पौडेलले भने, “हामीले प्राप्त अंकका आधारमा नै यो दाबी गरेका हौँ। हाम्रो विद्यालयले ऐतिहासिक सफलता हासिल गरेको छ। यस उपलब्धिका लागि हामी सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ।” यस उपलब्धिको खुसीयालीमा विद्यालयले आइतबार बिदासमेत दिएको छ।
विद्यालयले यस सफलतालाई अझ उत्कृष्ट बन्ने प्रेरणाका रूपमा ग्रहण गरेको जनाएको छ। साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस वर्षको कक्षा–१२ परीक्षामा ४ लाख १८ हजार ८०० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ३२ हजार १७८ जना नियमित तथा ८५ हजार ८३० जना आंशिक परीक्षार्थी थिए। परीक्षा देशभरका १ हजार ४२१ परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको थियो।




