महोत्तरी – महोत्तरीको औरही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४६ करोड ६९ लाख १७ हजारको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार : समृद्ध औरहीको आधार” भन्ने नाराका साथ नगरपालिकाले विकास निर्माण, प्रविधिमैत्री सुशासन र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ।
औरही नगरपालिकाको १८औँ नगरसभाको विशेष अधिवेशन नगर प्रमुख एवं सभाध्यक्ष प्रदीप कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथि तथा नगर उपप्रमुख रेणु झा र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।




नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्यले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा नगरवासीलाई स्वागत गर्नुभएको थियो।
नगरसभामा बजेट प्रस्तुत गर्दै नगर प्रमुख खड्काले कुल बजेटको स्रोत व्यवस्थापनबारे जानकारी दिँदै नेपाल सरकारबाट रु ३८ करोड ७ लाख ३० हजार, प्रदेश सरकारबाट रु १ करोड ७५ लाख ९८ हजार, आन्तरिक राजस्वबाट रु १ करोड ५० लाख तथा नगद मौज्दातबाट रु ५ करोड ३५ लाख ८९ हजार जुटाइने बताउनुभयो।

चालु आर्थिक वर्षको प्रगति समीक्षा गर्दै नगर प्रमुख खड्काले नगर क्षेत्रमा थप ५ किलोमिटर सडक निर्माण सम्पन्न भएको र ९ वडामध्ये ६ वटा वडा कार्यालयबाट आफ्नै भवनमार्फत सेवा प्रवाह सुरु भइसकेको जानकारी दिनुभयो।
आगामी आर्थिक वर्षमा नगरपालिकाले डिजिटल सुशासनलाई विशेष प्राथमिकता दिएको छ। विद्युतीय हाजिरी प्रणालीलाई स्वास्थ्य संस्थासम्म विस्तार गर्ने तथा सामाजिक सुरक्षा भत्ता वितरणमा बायोमेट्रिक र ईएफटी प्रणाली लागू गर्ने योजना अघि सारिएको छ।

शिक्षा क्षेत्रमा विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिँदै जीवनोपयोगी तथा सीपमूलक शिक्षामा जोड दिइने भएको छ। स्वास्थ्यतर्फ १५ शैयाको आँखा अस्पताल निर्माण अघि बढाउने तथा क्षयरोग र कुपोषण न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ।
पूर्वाधार विकासतर्फ नयाँ सडक आयोजनाको डीपीआर तयार गर्ने, सडक निर्माणसँगै नाला निर्माणलाई अनिवार्य गर्ने र ‘हरित सडक’ अवधारणाअनुसार वृक्षारोपण गर्ने योजना समेटिएको छ।

कृषि क्षेत्रको विकासका लागि बाँझो जमिन उपयोग गर्ने कृषकलाई बीउ तथा कृषि औजारमा अनुदान, माटो परीक्षण सेवा, स्यालो ट्युबवेल र कृषि उपकरण उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख यादवले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको आवश्यकता र अपेक्षाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख कर्णले स्थानीय तहको विकासका लागि पारदर्शिता, गुणस्तरीयता र जनसहभागिता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्य, विद्यालय तथा स्वास्थ्य संस्थाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो।

नगर प्रमुख खड्काले अन्त्यमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै औरही नगरपालिकाको १८औँ नगरसभाको विशेष अधिवेशन समापन भएको घोषणा गर्नुभयो।
औरही नगरपालिकाको ४६ करोड ६९ लाखको बजेट सार्वजनिक
पूर्णपाठ
फोटो….

































