सुजाता राई
विराटनगर । आन्तरिक पर्यटन प्रवर्द्धन तथा देश दर्शन अभियानअन्तर्गत विराटग साहित्य संगमले जेठ २९ गतेदेखि असार ६ गतेसम्म मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २८ जिल्लाको भ्रमण सम्पन्न गरेको छ।



संगमका अध्यक्ष मधु पोखरेलको नेतृत्वमा सम्पन्न भ्रमणमा संगमका सल्लाहकार तथा पूर्व राष्ट्रिय सभा सदस्य खेम नेपाली, ‘अभियान साहित्यिक’ मासिकका प्रधान सम्पादक रामबाबु दाहाल, सम्पादकत्रय भवानी पोखरेल, भीम कोइराला र शम्भु भट्टराई तथा आजीवन सदस्य नारायण दाहाल सहभागी थिए।
भ्रमण टोलीले सुदूरपश्चिमको टिंकर र धार्चुला, कञ्चनपुरको दोधारा–चाँदनी, गुल्मीको रुरु–रिडी, कालीगण्डकी करिडोर, मध्यपहाडी राजमार्ग, मदन भण्डारी मार्ग, सिक्टा सिँचाइ आयोजना, रानी–जमरा सिँचाइ आयोजना, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा हुलाकी मार्गलगायत विभिन्न विकास आयोजना, स्थानीय जनजीवन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सूक्ष्म अध्ययन तथा अवलोकन गरेको जनाएको छ।

भ्रमणका क्रममा विभिन्न धार्मिक स्थल, मठमन्दिर, ऐतिहासिक गढी तथा स्थानीय रहनसहनको समेत प्रत्यक्ष अनुभूति बटुलेर फर्किएको टोलीले जनाएको छ। अध्यक्ष मधु पोखरेलले भ्रमणबाट प्राप्त अनुभव र अवलोकन आगामी साहित्यिक सिर्जना तथा लेखनमा स्पष्ट रूपमा प्रतिबिम्बित हुने बताए।
सल्लाहकार खेम नेपालीले यसअघि राजनीतिक अभियानका क्रममा केही स्थानको भ्रमण गरिसकेको भए पनि यसपटकको यात्रा फरक अनुभूति र सिकाइले भरिएको बताए। प्रधान सम्पादक रामबाबु दाहालले देश दर्शनका क्रममा गरिएको यो अभियान फलदायी र स्मरणीय रहने विश्वास व्यक्त गरे।
सम्पादक भवानी पोखरेलले यात्राले धेरै नयाँ कुरा सिकाएको बताइन् भने उपन्यासकार भीम कोइरालाले ऐतिहासिक विषयमा लेखनका लागि थप ऊर्जा र सामग्री प्राप्त भएको प्रतिक्रिया दिए। शम्भु भट्टराईले सिर्जनात्मक लेखनका लागि प्रशस्त विषयवस्तु संकलन भएको बताए भने नारायण दाहालले देशप्रेम र राष्ट्रिय गौरवका विषयमा कविता सिर्जना गर्न थप प्रेरणा प्राप्त भएको उल्लेख गरे।
स्रष्टाहरूको स्वलागत सहभागितामा सम्पन्न भ्रमणलाई जनकपुरमा मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित कर्मयोगी बद्री पहाडी सामाजिक सम्मान कार्यक्रमले आतिथ्यता प्रदान गरेको थियो। त्यसैगरी धनगढीमा दाहाल प्रतिष्ठानका कैलाश दाहालले भ्रमण टोलीलाई सम्मानपूर्वक स्वागत गरेका थिए।
भ्रमण दलका सारथी विकल कोइराला रहेका थिए।




