महोत्तरी – महोत्तरीको औरही नगरपालिकासहित तराई–मधेसका विभिन्न स्थानमा मुस्लिम समुदायले मोहर्रम पर्वको अवसरमा शुक्रबार ताजिया (दाहा) पर्व श्रद्धा, धार्मिक आस्था र परम्पराअनुसार मनाएका छन्।
औरही नगरपालिका–१ स्थित औरही बजार, औरही नगरपालिका–३ श्रीपुर, बलबा नगरपालिका–१० स्थित रौजा मजार, सम्सी गाउँपालिका–१ पर्सा, गौशाला नगरपालिका–५ गौशाला बजार, लोहरपट्टी नगरपालिका, मटिहानी नगरपालिका लगायतका स्थानमा स्थानीय मुस्लिम समुदायले आ–आफ्ना घरमा निर्माण गरेका ताजिया (दाहा) सार्वजनिक स्थलमा ल्याई धार्मिक विधिअनुसार श्रद्धाञ्जलि अर्पण गरेका थिए। ती स्थानमा फातेहा, दुआ तथा अन्य धार्मिक अनुष्ठानसमेत सम्पन्न गरिएको थियो।




पर्वका अवसरमा युवाहरूले लाठी, तरबार तथा अन्य परम्परागत कलात्मक खेल प्रदर्शन गरेका थिए। मुस्लिम समुदायका महिलाहरूले इमाम हसन र इमाम हुसेनको सम्झनामा शोकगीत गाउने परम्परालाई निरन्तरता दिएका थिए। दाहा मेलामा स्थानीयवासी तथा अन्य समुदायका नागरिकको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

इस्लामिक पात्रोअनुसार मोहर्रम वर्षको पहिलो महिना हो। यही महिनाको दशौँ दिन (आशुरा) करबलाको युद्धमा पैगम्बर हजरत मोहम्मदका नाति इमाम हुसेन र उहाँका सहयात्रीहरूले सत्य, न्याय तथा इस्लाम धर्मको रक्षाका लागि दिएको बलिदानको सम्झनामा विश्वभरका मुस्लिम समुदायले मोहर्रम मनाउने परम्परा रहेको छ।

औरही नगरपालिका–१ निवासी रोजाई मन्सुर ले करबलाको घटनाले सत्य, न्याय, त्याग र मानवताको मार्गमा अडिग रहन प्रेरणा दिने बताउनुभयो। उहाँका अनुसार मोहर्रम केवल शोकको पर्व नभई अन्यायविरुद्ध संघर्ष र नैतिक मूल्यको संरक्षणको सन्देश दिने अवसर पनि हो।

“इमाम हुसेनले अन्याय र अत्याचारसँग सम्झौता नगरी सत्यको पक्षमा उभिँदै आफ्नो जीवन बलिदान गर्नुभयो। उहाँको शहादत सम्पूर्ण मानवताका लागि प्रेरणाको स्रोत बनेको छ,”उहाँले भन्नुभयो।

त्यस्तै, मटिहानी नगरपालिका–७ निवासी मो. इसराफिल राईन ले ताजिया (दाहा) पर्व मुस्लिम समुदायको धार्मिक आस्था, त्याग र बलिदानको प्रतीक भएको बताउनुभयो। उहाँले ताजिया प्रदर्शन तथा धार्मिक अनुष्ठानको उद्देश्य इमाम हुसेनको शहादतलाई स्मरण गर्नुका साथै उहाँले देखाउनुभएको सत्य, न्याय, धैर्यता र मानवताको मार्गलाई आत्मसात् गर्नु रहेको उल्लेख गर्नुभयो।

“मोहर्रम कुनै उत्सवको पर्व होइन, आत्मचिन्तन, संयम, त्याग र मानवताको सन्देश दिने अवसर हो,”उहाँले भन्नुभयो। नयाँ पुस्ताले पनि करबलाको इतिहास र इमाम हुसेनको आदर्शबाट प्रेरणा लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
मुस्लिम समुदायले मोहर्रम महिनाभर विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्दै इमाम हुसेन र उहाँका सहयात्रीहरूको बलिदानप्रति श्रद्धाञ्जलि अर्पण गर्ने परम्परा रहिआएको छ। ताजिया (दाहा) पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र एकताको सन्देश प्रवाह गर्ने विश्वास स्थानीय मुस्लिम समुदायले व्यक्त गरेका छन्।


















